वीरगञ्ज । तराई क्षेत्रमा लगातार बढ्दो गर्मी र तातो हावाका कारण जनजीवन प्रभावित भइरहेका बेला पर्साका निजी तथा सामुदायिक विद्यालयहरूमा भने नियमित रूपमा पठनपाठन सञ्चालन भइरहेका छन्। अत्यधिक गर्मीका बीच बालबालिकालाई विद्यालय पठाउनुपर्दा अभिभावकहरू चिन्तित बनेका छन्।
अभिभावकहरूले चर्को तापक्रमका कारण कक्षाकोठाभित्र विद्यार्थीहरूले कसरी अध्ययन गरिरहेका होलान् भन्ने प्रश्न उठाउँदै केही दिनका लागि विद्यालय बन्द गर्न वा पठनपाठनको समय परिवर्तन गर्न माग गरेका छन्। तर स्थानीय तह तथा विद्यालय प्रशासनले अपेक्षित चासो नदेखाएको भन्दै उनीहरूले गुनासो गरेका छन्।
प्राप्त जानकारीअनुसार पर्साका केही विद्यालयमा गर्मीका कारण विद्यार्थीहरू अस्वस्थ हुन थालेका छन्। मङ्गलवार सिद्धार्थ माध्यमिक विद्यालय र पन्नालाल माध्यमिक विद्यालयमा दर्जनौं विद्यार्थी बेहोश भएको जनाइएको छ। अत्यधिक गर्मी, बन्द कक्षाकोठा तथा पर्याप्त हावा प्रवाहको अभावका कारण विद्यार्थीहरू प्रभावित भएको बताइएको छ।
धेरै विद्यालयका कक्षाकोठामा अझै पनि विद्यार्थीको चाप अत्यधिक रहेको छ। कतिपय विद्यालयमा जडान गरिएका पुराना पङ्खाले पर्याप्त हावा दिन नसकेको, जीर्ण भवन तथा पुराना कक्षाकोठामा विद्यार्थीहरू अध्ययन गर्न बाध्य भएको अभिभावकहरूको भनाइ छ। खानेपानी, शौचालय तथा अन्य आधारभूत सुविधाको अभावले समस्या थप जटिल बनेको उनीहरूको गुनासो छ।
देशका विभिन्न जिल्लाहरूले बढ्दो गर्मीको प्रभावलाई मध्यनजर गर्दै केही दिनका लागि विद्यालय बन्द गर्ने, बिदा दिने वा पठनपाठनको समय परिवर्तन गर्ने निर्णय गरिसकेका छन्। तर पर्साका स्थानीय तहहरूले विद्यार्थीहरूको स्वास्थ्य र सुरक्षालाई प्राथमिकतामा राखेर तत्काल निर्णय नगरेको भन्दै आलोचना बढ्दै गएको छ।
यता स्थानीय सरकारहरू आगामी आर्थिक वर्षको बजेट निर्माणमा व्यस्त रहेका बेला विद्यालय जाने हजारौं बालबालिकाको स्वास्थ्य सुरक्षालाई उच्च प्राथमिकतामा राख्नुपर्ने अभिभावकहरूको माग छ।
अभिभावकहरूले अत्यधिक गर्मी कायम रहेसम्म विद्यालय बन्द गर्न, बिहानको चिसो समयमा मात्र कक्षा सञ्चालन गर्न अथवा अन्य वैकल्पिक व्यवस्था अपनाउन स्थानीय तह, शिक्षा शाखा तथा सम्बन्धित निकायसँग आग्रह गरेका छन्। उनीहरूले विद्यार्थीको स्वास्थ्यभन्दा महत्वपूर्ण कुनै विषय हुन नसक्ने भन्दै समयमै आवश्यक निर्णय लिन सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन्।