×

विराटनगर । विराटनगर महानगरपालिका–१ स्थित परोपकार घाटमा अश्लील तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार मंगलबार राति करिब १२ः३० बजे परोपकार घाट क्षेत्रमा केही व्यक्तिहरू भेला भई हो–हल्ला गरिरहेको तथा तीमध्ये दुई जना पुरुष निर्वस्त्र अवस्थामा रहेको भन्ने सूचना प्राप्त भएको थियो। दाहसंस्कार गरिने पवित्र सार्वजनिक स्थलमा अभद्र गतिविधि भइरहेको जानकारी पाएपछि प्रहरी टोली तत्काल घटनास्थलमा पुगेको थियो।

प्रहरीले घटनास्थलबाट मोरङका सुरेन्द्र मणि मण्डल, सुनसरीका कैलाश ढुङ्गाना, भोजपुरका मनिष काफ्ले र मोरङका छविलाल घिमिरेलाई नियन्त्रणमा लिएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मोरङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक मकेन्द्र कुमार मिश्र का अनुसार पक्राउ परेका चारै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रहरीले सार्वजनिक तथा धार्मिक महत्वका स्थानहरूमा मर्यादा विपरीतका गतिविधि नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

Back to top