×

वीरगञ्ज । काठमाडौँ उपत्यकासहित देशका ११ जिल्लाका ८२ स्थानमा बर्ड फ्लुको संक्रमण पुष्टि भएपछि पशु सेवा विभागले उच्च सतर्कता अपनाउन सर्वसाधारण, कृषक तथा सरोकारवाला निकायलाई आग्रह गरेको छ।

मंगलबार विभागका महानिर्देशक डा. उमेश दाहालद्वारा जारी प्रेस विज्ञप्तिअनुसार गत चैत ४ गते मोरङ जिल्लामा पहिलोपटक बर्ड फ्लु संक्रमण पुष्टि भएको थियो। त्यसयता संक्रमण क्रमशः फैलिँदै हाल ११ जिल्लाका ८२ स्थानमा पुगेको विभागले जनाएको छ।

विभागका अनुसार झापा, मोरङ, सुनसरी, महोत्तरी, बारा, चितवन, नवलपरासी, काठमाडौँ, ललितपुर, भक्तपुर र काभ्रेपलाञ्चोक जिल्लामा बर्ड फ्लुको संक्रमण देखिएको छ। प्रारम्भिक चरणमा कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्लामा संक्रमण पुष्टि भए पनि पछिल्ला महिनाहरूमा मधेश तथा बागमती प्रदेशका विभिन्न जिल्लामा समेत फैलिएको जनाइएको छ।

काठमाडौँ उपत्यकाका काठमाडौँ, ललितपुर र भक्तपुर तीनै जिल्लामा संक्रमण देखिएको विभागले उल्लेख गरेको छ। केही दिनअघि ललितपुरस्थित जावलाखेलको सदर चिडियाखानामा समेत बर्ड फ्लु पुष्टि भएपछि चिडियाखाना अस्थायी रूपमा बन्द गरिएको छ।

पशु सेवा विभागले कुखुरा तथा अन्य पक्षीपालन व्यवसायीहरूलाई जैविक सुरक्षा मापदण्ड (बायोसेक्युरिटी) कडाइका साथ पालना गर्न आग्रह गरेको छ। साथै, कुखुरा वा अन्य पक्षीमा असामान्य मृत्यु, बिरामीपन वा बर्ड फ्लुसँग मिल्दोजुल्दो कुनै लक्षण देखिएमा तत्काल सम्बन्धित पशु सेवा कार्यालय वा निकायलाई जानकारी गराउन अनुरोध गरिएको छ।

संक्रमण फैलिन नदिन प्रभावित क्षेत्रहरूमा निगरानी, परीक्षण तथा नियन्त्रणका विभिन्न कार्यक्रम सञ्चालन भइरहेको विभागले जनाएको छ। पशुपन्छी क्षेत्रसँग सम्बन्धित सबै पक्षलाई सतर्कता अपनाउन र सरकारी निर्देशनहरूको पालना गर्न विभागले पुनः आग्रह गरेको छ।

Back to top