×

वीरगञ्ज । वीरगञ्ज प्रहरीले राजस्व छलीको आशंकामा नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय, पथलैयामा बुझाएको मालवाहक ट्रकबाट ठूलो परिमाणमा प्रतिबन्धित औषधि ट्रामाडोल बरामद भएको छ।

प्रहरीका अनुसार वीरगञ्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०३–००१ ख ३३४६ नम्बरको मालवाहक ट्रकबाट प्रतिबन्धित औषधि ट्रामाडोल फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले असार ८ गते साँझ करिब ७ बजे राजस्व छलीको आशंकामा उक्त ट्रकलाई नियन्त्रणमा लिई बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ पथलैयास्थित राजस्व अनुसन्धान कार्यालयमा बुझाएको थियो।

राजस्व अनुसन्धान कार्यालयमा गरिएको जाँचका क्रममा ट्रकबाट ट्रामाडोल १ लाख २० हजार ६२० क्याप्सुल बरामद भएको जनाइएको छ।

बरामद गरिएको प्रतिबन्धित औषधिको स्रोत, गन्तव्य तथा यसमा संलग्न व्यक्ति वा समूहबारे सम्बन्धित निकायले थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रहरीले पछिल्लो समय सीमावर्ती क्षेत्र तथा प्रमुख राजमार्गहरूमा अवैध सामान, लागूऔषध तथा राजस्व छली नियन्त्रणका लागि निगरानी र जाँच अभियानलाई थप कडाइ गरेको जनाएको छ।

Back to top