चितवन । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र आफ्नो राजनीतिक यात्राको मूल उद्देश्य तथा सपना एउटै रहेको बताएका छन्।
चितवनको भरतपुरमा आयोजित रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष राउतले रास्वपाका नेता–कार्यकर्तामा देश निर्माण र समृद्धि ल्याउने जुन अठोट रहेको छ, आफूभित्र पनि त्यही अठोट र प्रतिबद्धता रहेको बताए।
उनले राजनीतिक दलहरूलाई सामान्यतया प्रतिस्पर्धीका रूपमा हेरिने गरिए पनि आफू प्रतिस्पर्धाको भावना लिएर नभई देशको रूपान्तरणका लागि सहयात्रीको रूपमा उपस्थित भएको स्पष्ट पारे।
“जुन सपना तपाईंहरूले देख्नुभएको थियो, ठीक त्यही सपना मैले पनि देखेको थिएँ,” राउतले भने, “देशलाई समृद्ध बनाउने, सुशासन स्थापित गर्ने र नागरिकको जीवनस्तर उकास्ने हाम्रो साझा चाहना हो। यही अठोट र उद्देश्यको मिलनविन्दु नै आजको मेरो सहभागिता हो।”
रास्वपाको प्रथम महाधिवेशनमा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूको सहभागिता रहेको थियो। कार्यक्रममा नेताहरूबीच भएको संवादलाई नेपाली राजनीतिमा सकारात्मक सन्देशका रूपमा हेरिएको छ।
विशेषगरी रास्वपा र जनमत पार्टीलाई पछिल्लो समय उदाएका ‘नयाँ राजनीतिक शक्ति’ का रूपमा हेरिने भएकाले अध्यक्ष राउतको अभिव्यक्ति र सहकार्यको सन्देशलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा लिइएको छ।
राजनीतिक विश्लेषकहरूले देश निर्माण र सुशासनको साझा एजेन्डामा आधारित संवाद तथा सहकार्यले आगामी दिनमा नयाँ राजनीतिक समीकरण र सहकार्यको सम्भावना बढाउन सक्ने बताएका छन्।