गत महिना प्रश्नपत्र चुहावटको विवादपछि भारत सरकारले राष्ट्रव्यापी मेडिकल कलेज प्रवेश परीक्षा (एनइइटी) को पुनःपरीक्षा अघि मंगलबार टेलिग्राम मेसेन्जरको पहुँचमा प्रतिबन्ध लगाएको छ।
उच्च माध्यमिक परीक्षासम्बन्धी अंकन त्रुटि र अत्यधिक प्रतिस्पर्धात्मक परीक्षाहरूमा देखिएको अनियमितताले देशभरि आक्रोश बढाएको छ। युवाहरूले शिक्षा मन्त्रीको राजीनामा माग गर्दै विरोध प्रदर्शनसमेत गरेका छन्।
भारतको इलेक्ट्रोनिक्स मन्त्रालयले पुनःपरीक्षा सम्पन्न हुने दिनसम्म टेलिग्राममा पहुँच सीमित गर्ने आदेश जारी गरेको छ। साथै, प्रयोगकर्ताहरूलाई पहिलेका पोस्ट सम्पादन गर्न दिने सुविधा जुन ३० सम्मका लागि रोकिएको छ।
राष्ट्रिय परीक्षण एजेन्सी (एनटीए)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उम्मेदवारहरूलाई ठगी गर्ने संगठित गिरोहहरूले प्लेटफर्मको दुरुपयोग गरेको पृष्ठभूमिमा सार्वजनिक हित र व्यवस्था कायम राख्न यी कदम चालिएका हुन्।’‘एनइइटी’ भारतको सबैभन्दा प्रतिस्पर्धात्मक परीक्षामध्ये एक हो,
जसमा वार्षिक रूपमा २० लाखभन्दा बढी विद्यार्थी सहभागी हुन्छन्। मे महिनामा प्रश्नपत्र परीक्षा अघि नै चुहिएको आरोप लागेपछि परीक्षा रद्द गरिएको थियो। केही रिपोर्टअनुसार चुहिएको सामग्री टेलिग्राम च्यानलमार्फत प्रसारित गरिएको थियो।
प्रतिबन्धप्रति प्रतिक्रिया जनाउँदै टेलिग्रामका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत पावेल डुरोभले यो कदम प्रभावहीन भएको दाबी गरे। सामाजिक सञ्जाल एक्समा उनले ‘यो प्रतिबन्धले परीक्षा सामग्री चुहाउने व्यक्तिलाई होइन, भारतका १५ करोड सामान्य प्रयोगकर्तालाई दण्डित गरेको छ। चुहावट अन्य एपहरूमा सरेको मात्र हो’ लेखेका छन्।
डिजिटल अधिकारसम्बन्धी संस्था इन्टरनेट फ्रिडम फाउन्डेसनले पनि प्रतिबन्धलाई ‘परीक्षा ठगीको समस्याप्रति असमान र अनुपयुक्त प्रतिक्रिया’ भनेको छ।
भारतमा राष्ट्रिय स्तरका परीक्षामा सफल हुने तीव्र दबाबले हजारौं कोचिङ सेन्टरहरू भएको ठूलो उद्योगलाई जन्म दिएको छ। सीमित अवसर र कडा प्रतिस्पर्धाका कारण परीक्षासम्बन्धी आपराधिक गतिविधि तथा प्रश्नपत्र बेचबिखन गर्ने गिरोहहरू सक्रिय हुने गरेको बताइन्छ।
यसैबीच, भारतको केन्द्रीय अनुसन्धान ब्यूरो (सिबीआइ) ले प्रश्नपत्र चुहावट प्रकरणका कथित मुख्य योजनाकारलाई पक्राउ गरेको छ। उनलाई एनटीए को परीक्षा प्रक्रियासँग सम्बन्धित रसायनशास्त्रका व्याख्याता बताइएको छ।
शिक्षा मन्त्रालयले सर्वसाधारणलाई एनइइटी सम्बन्धी शंकास्पद दाबी, अनधिकृत सामग्री वा ठगीका गतिविधिबारे जानकारी दिन सकिने अनलाइन पोर्टल पनि सञ्चालनमा ल्याएको छ।
स्थानीय सञ्चारमाध्यमका अनुसार पुनःपरीक्षाका प्रश्नपत्र सुरक्षित रूपमा ढुवानी गर्न भारतीय वायु सेनाका हेलिकप्टर प्रयोग गर्ने तयारी गरिएको छ।
आर्थिक वृद्धिका बाबजुद भारतमा स्थायी तथा राम्रो आम्दानी भएका रोजगारीको अभावले युवामाझ असन्तुष्टि बढिरहेको छ। व्यावसायिक करियर सुरक्षित गर्ने आशामा विद्यार्थीहरूले वर्षौंसम्म तयारी गर्ने भए पनि तीव्र प्रतिस्पर्धा र परीक्षा प्रणालीका विवादहरूले थप दबाब सिर्जना गरेको छ।
एनइइटी विवादसँगै करिब २० लाख विद्यार्थी सहभागी हुने उच्च माध्यमिक तहको अर्को राष्ट्रिय परीक्षामा अनलाइन मूल्याङ्कन प्रणालीसम्बन्धी समस्या पनि सार्वजनिक भएको छ। धेरै विद्यार्थीहरूले गलत नतिजा प्रकाशित भएको वा गलत ग्रेड प्रदान गरिएको गुनासो गरेका छन्।