बारा । डिभिजन वन कार्यालय, बाराले वन अतिक्रमण क्षेत्र खाली गर्न जारी गरेको सूचनामाथि सामाजिक सञ्जालमा उत्तेजक तथा आपत्तिजनक टिप्पणी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरी चेतावनीसहित रिहा गरेको छ।
पक्राउ पर्नेमा बद्री प्रसाद बादल रहेका छन्। इलाका प्रहरी कार्यालय सिमराका अनुसार डिभिजन वन कार्यालय, बाराले आफ्नो आधिकारिक फेसबुक पेजमार्फत वनदेवी समुदाय वन प्रयोगकर्ता समूह अन्तर्गत अतिक्रमित वन क्षेत्र खाली गर्न सूचना सार्वजनिक गरेको थियो।
उक्त सूचनामाथि बडालले ‘जो गरीब जनता उठाउन आउँछ, जनता एक भएर त्यसको घाँटी छिनाल्नुपर्छ’ भन्ने आशयको टिप्पणी गरेका थिए। प्रहरीका अनुसार उक्त अभिव्यक्तिले शान्ति–सुरक्षामा असर पार्ने, हिंसा भड्काउने तथा सरकारी कर्मचारी र सुरक्षाकर्मीलाई लक्षित धम्कीजन्य सन्देश दिएको देखिएकाले उनलाई जीतपुरसिमरा उपमहानगरपालिका–३ बजनी क्षेत्रबाट नियन्त्रणमा लिइएको थियो।
इलाका प्रहरी कार्यालय सिमराका प्रमुख तथा प्रहरी नायब उपरीक्षक दिलीप क्षेत्रीका अनुसार सोधपुछका क्रममा बडालले आफ्नो टिप्पणीप्रति खेद व्यक्त गर्दै भविष्यमा यस्ता गतिविधि नदोहो¥याउने तथा टिप्पणी हटाउने प्रतिबद्धता जनाएका थिए। त्यसपछि लिखित प्रतिबद्धता लिएर उनलाई रिहा गरिएको उनले बताए।
प्रहरीले सामाजिक सञ्जाल वा अन्य माध्यमबाट हिंसा भड्काउने, कानून हातमा लिन उक्साउने, सार्वजनिक निकायका कर्मचारीलाई धम्की दिने वा शान्ति–सुव्यवस्थामा खलल पुर्याउने गतिविधि स्वीकार्य नहुने स्पष्ट गरेको छ।
डिभिजन वन कार्यालय बाराका प्रमुख सुजित कुमार झाले वन अतिक्रमण नियन्त्रण तथा वन क्षेत्र संरक्षणका लागि कानूनी प्रक्रिया अनुसार अभियान सञ्चालन भइरहेको बताउँदै भ्रामक अभिव्यक्ति, उक्साहट तथा धम्कीपूर्ण गतिविधिमाथि आवश्यक कानूनी कारबाही गरिने चेतावनी दिएका छन्।
वन कार्यालयका अनुसार वनदेवी सामुदायिक वन उपभोक्ता समूह अन्तर्गत रहेको २१.००२४ हेक्टर वन क्षेत्रमध्ये १३ हेक्टर क्षेत्रमा गत वर्ष वृक्षारोपण गरिएको थियो। बाँकी करिब आठ हेक्टर क्षेत्रमा रहेका ११ वटा घरटहरा हटाएर वृक्षारोपण गर्ने तयारी भइरहेको जनाएको छ।
वन क्षेत्र संरक्षण र अतिक्रमण नियन्त्रण अभियानलाई प्रभावकारी बनाउन स्थानीय प्रशासन, सुरक्षा निकाय तथा वन कार्यालयबीच समन्वयात्मक रूपमा काम भइरहेको बताइएको छ।