वीरगञ्ज । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को बहुप्रतीक्षित खेलमा पाँच पटकको विश्व च्याम्पियन ब्राजिल अफ्रिकन पावर हाउस मोरक्कोसँग १–१ गोलको बराबरीमा रोकिएको छ । न्युजर्सीस्थित मेटलाइफ स्टेडियममा सम्पन्न अत्यन्त प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले एक–एक गोल गर्दै अङ्क बाँडेका हुन् ।
खेलको सुरुआतदेखि नै मोरक्कोले आक्रामक रणनीति अपनाउँदै ब्राजिललाई दबाबमा राखेको थियो । त्यसको परिणामस्वरूप २१ औँ मिनेटमा इस्माइल साइबारीले उत्कृष्ट गोल गर्दै मोरक्कोलाई अग्रता दिलाए । ब्राहिम डियाजको सटिक पासलाई सदुपयोग गर्दै पीएसभी आइन्डोभेनका फरवार्ड साइबारीले ब्राजिलका गोलकिपर एलिसन बेकरमाथि चलाखीपूर्ण ‘स्कुप’ प्रहार गरेका थिए ।
तर मोरक्कोको खुसी लामो समय टिक्न सकेन । खेलको ३२ औँ मिनेटमा ब्राजिलका स्टार विंगर विनेसियस जुनियरले ब्रुनो गुइमारेसको पासमा सुन्दर गोल गर्दै खेललाई १–१ को बराबरीमा ल्याए । त्यसपछि दुवै टोलीले केही अवसर सिर्जना गरे पनि पहिलो हाफमा थप गोल हुन सकेन ।
दोस्रो हाफ अपेक्षाकृत सुस्त देखिए पनि दुवै टोलीले जितका लागि प्रयास जारी राखे । ब्राजिलका लुकास पाक्वेटा, राफिन्हा र डानिलोले प्रहार गरेका सटहरू मोरक्कोका गोलकिपर यासिन बोनोले उत्कृष्ट बचाउ गर्दै विफल पारिदिए । खेलको अन्तिम समयमा मोरक्कोले निर्णायक गोल गर्ने सुनौलो अवसर पाए पनि एलिसन बेकरले शानदार बचाउ गर्दै ब्राजिललाई पराजयबाट जोगाए ।
सन् २००२ पछि पहिलो पटक विश्वकप उपाधि जित्ने लक्ष्यसहित मैदान उत्रिएको ब्राजिलका लागि नयाँ प्रशिक्षक कार्लो अन्सेलोटीको यो पहिलो ठुलो परीक्षा थियो । ब्राजिलको इतिहासमै पहिलो विदेशी प्रशिक्षकका रूपमा टोली सम्हालेका इटालियन रणनीतिकार अन्सेलोटीले दक्षिण अमेरिकी छनोट चरणमा पाँचौँ स्थानमा सीमित भएको टोलीलाई नयाँ दिशा दिने प्रयास गरिरहेका छन् ।
घाइते स्टार स्ट्राइकर नेयमार बिना मैदान उत्रिएको ब्राजिलको खेल हेर्न रङ्गशालामा पूर्व महान् खेलाडीहरू रोनाल्डो, रोबर्टो कार्लोस र काकासमेत उपस्थित थिए ।
सन् २०२२ विश्वकपको सेमिफाइनलसम्मको ऐतिहासिक यात्रा गरेको मोरक्कोले यस संस्करणमा पनि आफ्नो लय कायम राख्ने संकेत दिएको छ । बलियो र अनुशासित रक्षापंक्तिका साथ तीव्र काउन्टर अट्याकमा आधारित उनीहरूको खेल शैलीले ब्राजिललाई निरन्तर दबाबमा राख्यो ।
यस बराबरीसँगै दुवै टोलीले १–१ अङ्क बटुलेका छन् । समूह ‘सी’ अन्तर्गत अब ब्राजिलले तुलनात्मक रूपमा कमजोर मानिएको हाइटीसँग खेल्नेछ भने मोरक्कोले स्कटल्यान्डको सामना गर्नेछ । आगामी खेलहरू दुवै टोलीका लागि नकआउट चरण प्रवेशका दृष्टिले निर्णायक हुने अपेक्षा गरिएको छ ।
समूह चरणको पहिलो खेलमै ब्राजिलले अपेक्षित प्रदर्शन गर्न नसके पनि टोलीले सम्भावना जीवित राखेको छ । यता मोरक्कोले फेरि एक पटक आफूलाई विश्व फुटबलमा बलियो प्रतिस्पर्धीका रूपमा प्रमाणित गरेको छ । आगामी खेलहरूले समूह ‘सी’ को समीकरण थप रोचक बनाउने निश्चित देखिन्छ ।