वीरगञ्ज । पर्साको बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टीस्थित सीमा क्षेत्रबाट भारतबाट अवैध रूपमा ल्याइँदै गरिएका ७ हजार ४ सय गोटा प्रतिबन्धित ब्रोइलर कुखुराका चल्ला सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्साबाट खटिएको मोबाइल टोलीले विशेष सूचनाको आधारमा करिब ७ लाख ४० हजार रुपैयाँ बराबरका ७४ कार्टुनमा राखिएका ७ हजार ४ सय गोटा ब्रोइलर चल्लासहित बिन्दबासिनी गाउँपालिका–४ अमरपट्टी निवासी अन्दाजी ४२ वर्षीय उमेश मुखियालाई नियन्त्रणमा लिएको हो।
सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका व्यक्ति र चल्लालाई आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाएको जनाएको छ।
पशु स्वास्थ्य तथा क्वारेन्टाइनसम्बन्धी प्रचलित कानुनी व्यवस्थाअनुसार नेपाल प्रहरी, स्थानीय सञ्चारकर्मी, क्वारेन्टाइन कार्यालयका प्रतिनिधि तथा स्थानीय जनप्रतिनिधिको रोहवरमा सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण मुख्यालय पर्सामा ती चल्लाहरू नष्ट गरिएको सशस्त्र प्रहरीका सूचना अधिकारी तथा सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा हुने अवैध आयात तथा पशुजन्य वस्तुको गैरकानुनी ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई निरन्तर तीव्र बनाइएको जनाएको छ।