वीरगञ्ज । पर्सागढी नगरपालिका–२ बगवन्नास्थित पर्सागढी जनस्वास्थ्य प्रयोगशालामा आवश्यक ल्याब सामग्री अभाव भएपछि करिब दुई महिनादेखि ल्याब परीक्षण सेवा पूर्ण रूपमा बन्द भएको छ। प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुर र पर्सागढी नगरपालिकाको सहकार्यमा सञ्चालित प्रयोगशालाको सेवा ठप्प हुँदा स्थानीय सेवाग्राहीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्।
स्थानीय बासिन्दा तथा पर्सागढी नगरपालिका–३ निवासी आशिष अधिकारीले यसअघि न्यूनतम शुल्कमा सहज रूपमा उपलब्ध हुने ल्याब परीक्षण सेवा बन्द भएपछि अहिले सामान्य परीक्षणका लागि पनि वीरगञ्ज पुग्नुपर्ने बाध्यता सिर्जना भएको बताए। उनका अनुसार यसले स्थानीय नागरिकको समय र आर्थिक दुवै भार बढाएको छ।
उनले सेवा शुल्क नियमित रूपमा सङ्कलन भइरहे पनि आवश्यक ल्याब सामग्रीको अभावमा सेवा बन्द हुनु दुःखद भएको उल्लेख गर्दै अत्यधिक गर्मीको समयमा स्थानीयवासीले थप सास्ती खेप्नुपरेको बताए।
पर्सागढी जनस्वास्थ्य प्रयोगशालाका ल्याब टेक्निसियन अताउल्लाह अन्सारीका अनुसार प्रयोगशाला २०७९ सालमा स्थापना भएको हो। सुरुमा प्रयोगशालाबाट सङ्कलित न्यूनतम सेवा शुल्क पर्सागढी नगरपालिकाको खातामा जम्मा हुने र आवश्यक ल्याब सामग्री नगरपालिकाले खरिद गरी उपलब्ध गराउने व्यवस्था थियो।
तर चालु आर्थिक वर्षको चैत मसान्तदेखि प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरको पत्राचारअनुसार प्रयोगशालाबाट उठेको सेवा शुल्क प्रदेश जनस्वास्थ्य प्रयोगशालाको खातामा जम्मा गर्न थालिएको उनले जानकारी दिए। त्यसयता आवश्यक ल्याब सामग्री प्रदेशबाट उपलब्ध नगराइएकाले प्रयोगशालाको सम्पूर्ण परीक्षण सेवा बन्द भएको अन्सारीको भनाइ छ।
यस प्रयोगशालाबाट मधुमेह, अल्सर, ग्यास्ट्रिक, जन्डिस, क्षयरोग (टिबी), टाइफाइड, मलेरिया, डेङ्गी, कलेजो, मुटु, कोलेस्ट्रोल, बाथरोग तथा गर्भसम्बन्धी विभिन्न परीक्षण सेवा उपलब्ध हुँदै आएको थियो। सेवा बन्द भएपछि स्थानीय नागरिक निजी प्रयोगशाला वा टाढाका स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराउन बाध्य भएका छन्।
स्थानीयवासीहरूले आवश्यक ल्याब सामग्रीको तत्काल व्यवस्था गरी पर्सागढी जनस्वास्थ्य प्रयोगशालाको सेवा यथाशीघ्र पुनः सञ्चालन गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।