×

वीरगञ्ज । पर्सा जिल्लाका १५ महिनासम्मका सबै बालबालिकाले समयमै नियमित खोप पाए–नपाएको सुनिश्चित गर्न स्वास्थ्य कार्यालय पर्साले बहुदरमाई नगरपालिकामा क्रस–चेक अनुगमन कार्यक्रम सञ्चालन गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित खोप कार्यक्रमअन्तर्गत बालबालिकालाई विभिन्न सरुवा रोगबाट सुरक्षित राख्न समयमै खोप लगाउनु अत्यन्त महत्वपूर्ण मानिन्छ। सोही उद्देश्यअनुसार स्वास्थ्य कार्यालय पर्साको टोलीले बहुदरमाई नगरपालिकाका विभिन्न टोल तथा बस्तीमा पुगेर खोपको अवस्थाबारे स्थलगत अनुगमन गरेको हो।

अनुगमनका क्रममा अधिकांश बालबालिकाले राष्ट्रिय खोप तालिकाअनुसार समयमै नियमित खोप प्राप्त गरेको पाइएको स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले जानकारी दिए। उनका अनुसार बहुदरमाई नगरपालिकामा खोप कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन भइरहेको देखिएको छ भने अभिभावकहरू पनि बालबालिकाको स्वास्थ्यप्रति सचेत रहेको पाइएको छ।

टोलीले बहुदरमाई नगरपालिकाअन्तर्गत रहेको रामनगरी स्वास्थ्य चौकीसहित विभिन्न खोप केन्द्रहरूको निरीक्षणसमेत गरेको थियो। अनुगमनका क्रममा स्वास्थ्यकर्मीहरूले अभिभावकसँग प्रत्यक्ष भेटघाट गरी खोपको महत्वबारे जानकारी गराउनुका साथै छुटेका बालबालिकालाई खोप केन्द्रसम्म ल्याउने व्यवस्था र आगामी दिनमा पनि नियमित रूपमा खोप लगाइरहनुपर्ने विषयमा सचेतना फैलाएका थिए।

पर्सा जिल्ला खोप समितिका संयोजक तथा जिल्ला समन्वय समितिका अध्यक्ष अजय कुमार सोनारले नियमित खोप कार्यक्रम बालबालिकाको स्वास्थ्य सुरक्षाको आधारस्तम्भ भएको उल्लेख गर्दै प्रत्येक बालबालिकाले तोकिएको समयमै सम्पूर्ण खोप प्राप्त गर्नुपर्नेमा जोड दिए। उनले खोप अभियानलाई अझ प्रभावकारी बनाउन स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको सहकार्यलाई थप सुदृढ बनाइने बताए।

स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुरले घरदैलो तथा क्रस–चेक अनुगमनले छुटेका बालबालिकाको पहिचान गर्न र खोप कार्यक्रमको वास्तविक अवस्था मूल्यांकन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले आगामी दिनमा पनि यस्ता अनुगमन तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।

अनुगमन टोलीमा जिल्ला समन्वय समितिका अध्यक्ष अजय कुमार सोनार, स्वास्थ्य कार्यालय पर्साका अधिकृत जयमोद ठाकुर, नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य राहुल गुप्ता तथा स्वास्थ्य कार्यालयका कर्मचारी शबनम कार्की, शर्मिला न्यौपाने, खुश्बु यादवलगायतको सहभागिता रहेको थियो।

स्वास्थ्य कार्यालय पर्साका अनुसार खोपबाट बच्न सकिने रोगहरूको जोखिम न्यूनीकरण गर्न प्रत्येक बालबालिकाले निर्धारित उमेरभित्र सबै आवश्यक खोप पूरा गर्नु अनिवार्य छ। यसका लागि स्थानीय तह, स्वास्थ्य संस्था र समुदायबीचको समन्वयलाई अझ प्रभावकारी बनाइने तथा नियमित खोप कार्यक्रमको प्रभावकारिता बढाउन घरदैलो अनुगमन र जनचेतनामूलक कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने जनाएको छ।

Back to top