वीरगञ्ज । जल तथा मौसम विज्ञान विभागले बुधबारका लागि सार्वजनिक गरेको देशका प्रमुख सहरहरूको मौसम पूर्वानुमान अनुसार आज देशभरको मौसम बदली भई सबैजसो सहरमा वर्षा हुने सम्भावना छ।
तराई क्षेत्रमा केही दिनयता देखिएको अत्यधिक गर्मीबाट आज केही राहत मिल्ने देखिन्छ । त्यहाँ पनि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ। आज कुनै पनि सहरको मौसम पूर्ण रूपमा सफा रहने छैन।
आज दिउँसो देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनेछ। मौसम पूर्वानुमान अनुसार काठमाडौँ, पोखरा, विराटनगर, धरान, जनकपुर, ओखलढुङ्गा, धनकुटा, जिरी र ताप्लेजुङलगायतका क्षेत्रमा दिउँसो मध्यम वर्षा हुनेछ। यी क्षेत्रहरूमा पानी पर्ने सम्भावना ४० प्रतिशत रहेको छ।
त्यसैगरी पश्चिम र कर्णालीका डडेल्धुरा, दिपायल, वीरेन्द्रनगर र जुम्लामा पनि मध्यम वर्षाकै सम्भावना छ। तराईका सहरहरू धनगढी, नेपालगन्ज, घोराही, भैरहवा र सिमरामा भने मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने पूर्वानुमान छ। वर्षाको सम्भावना रहे पनि तराईका सहरहरूमा तापक्रम भने उच्च नै रहनेछ।
आज धनगढीको अधिकतम तापक्रम ३८ देखि ४० डिग्री र नेपालगन्जको ३७ देखि ३९ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ। काठमाडौँको अधिकतम तापक्रम भने २८ देखि ३० डिग्री सेल्सियसको बीचमा रहनेछ।
दिउँसो सुरु भएको वर्षाको क्रम राति पनि जारी रहनेछ। रातिको समयमा पोखरा, भैरहवा, सिमरा, काठमाडौँ, विराटनगर, धरान र जनकपुरमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने पूर्वानुमान छ। यी क्षेत्रहरूमा राति पानी पर्ने सम्भावना ४० प्रतिशत छ। देशका अन्य बाँकी सहरहरू जस्तै डडेल्धुरा, दिपायल, धनगढी, वीरेन्द्रनगर, नेपालगन्ज, जुम्ला, घोराही, ओखलढुङ्गा, धनकुटा, जोमसोम, जिरी र ताप्लेजुङमा भने राति मेघगर्जनसहित हल्का वर्षा हुनेछ।
देशकै सबैभन्दा कम तापक्रम भने हिमाली जिल्लामा मापन हुनेछ। आज राति जोमसोमको न्यूनतम तापक्रम १० देखि १२ डिग्री र जुम्लाको न्यूनतम तापक्रम १२ देखि १४ डिग्री सेल्सियससम्म झर्ने विभागको भनाइ छ।