×

वीरगञ्ज । विश्व वातावरण दिवस २०८३ को अवसरमा प्रकृति सेवा प्रतिष्ठान, नेपालले जीवन ज्योति स्कुलको सहकार्यमा सप्ताहव्यापी कार्यक्रमअन्तर्गत चौथो दिन बुधबार जनचेतनामूलक साइकल र्‍याली आयोजना गरेको छ।

प्रकृति सेवा प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको नेतृत्वमा आयोजित र्‍यालीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक युवराज कटुवाल, जीवन ज्योति स्कुलका प्रधानाध्यापक शिव गुप्ता, समाजसेवी भगवान श्रेष्ठ, वीरगञ्ज कपडा बैंकका अध्यक्ष तथा सञ्चारकर्मी लालबाबु सिंह, युवा अभियन्ता दिलीप कार्की, प्रतिष्ठानका सहसचिव अभिनाश झा, सदस्यहरू भोला प्रसाद, रुपनारायण सिंह, केदार गुप्ता, सञ्चारकर्मी आकाश पटेल, रानिघाट प्रहरी पोस्टका प्रहरी कर्मचारी, शिक्षक तथा कक्षा ९ र १० का करिब ५० विद्यार्थीहरूको सहभागिता रहेको थियो।

रानिघाटस्थित जीवन ज्योति स्कुलबाट सुरु भएको साइकल र्‍याली घण्टाघर, बसपार्क, बाइपास रोड हुँदै नगवा पुगेको थियो। त्यहाँबाट रेशमकोठी, मेनरोड, कैलाश होटल चोक, घडिअर्वा पोखरी, माइस्थान र घण्टाघर हुँदै पुनः विद्यालय परिसरमा पुगेर समापन गरिएको थियो।

विद्यालयका प्रधानाध्यापक शिव गुप्ताले हरियो झण्डा देखाएर र्‍यालीको उद्घाटन गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै ट्राफिक प्रहरी प्रमुख युवराज कटुवालले वातावरणले मानव जीवनलाई जन्मदेखि मृत्युसम्म आवश्यक हावा, पानी, अन्न, फलफूल, वनस्पति तथा जडीबुटीजस्ता जीवनदायी स्रोतहरू निःशुल्क उपलब्ध गराउँदै आएको उल्लेख गर्दै यसको संरक्षण, संवर्द्धन र सम्मान गर्नु सबैको दायित्व भएको बताए। उनले ट्राफिक नियमको पालना गर्न आग्रह गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना पनि गरे।

त्यसैगरी, प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंहले “हरियो, सफा र स्वस्थ वीरगञ्ज”, “प्लास्टिक झोला तथा प्रदूषणमुक्त वीरगञ्ज” र “धरतीलाई बचाऔँ, वातावरणलाई जोगाऔँ” भन्ने मूल मन्त्रका साथ प्रतिष्ठानले हरेक वर्ष वातावरण संरक्षणसम्बन्धी कार्यक्रम सञ्चालन गर्दै आएको बताए।

उनले विश्व वातावरण दिवसको पूर्वसन्ध्यामा विगत तीन दिनदेखि सरसफाइ तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको र चौथो दिन साइकल र्‍यालीमार्फत वातावरण संरक्षणबारे सन्देश प्रवाह गरिएको जानकारी दिए। वातावरणप्रति जिम्मेवारीबोध जगाउन तथा जनचेतना अभिवृद्धि गर्न यस्ता कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्दै उनले सहभागी विद्यार्थी, शिक्षक तथा प्रतिष्ठानका पदाधिकारीहरूप्रति आभार व्यक्त गरे।

आयोजकका अनुसार सप्ताहव्यापी कार्यक्रममार्फत वातावरण संरक्षण, सरसफाइ, प्लास्टिकजन्य प्रदूषण नियन्त्रण तथा हरित जीवनशैलीबारे जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ।

Back to top