वीरगञ्ज । वीरगञ्ज घर भएकी बालिका सिद्धि मिश्र गत वैशाख १६ गतेदेखि रहस्यमय परिस्थितिमा बेपत्ता भएकी छन् । उनी हराएपछि परिवारले विभिन्न स्थानमा व्यापक खोजतलास गरे पनि हालसम्म उनको अवस्थिति सम्बन्धी कुनै ठोस जानकारी प्राप्त हुन सकेको छैन ।
परिवारका सदस्यहरूका अनुसार सिद्धि अचानक सम्पर्कविहीन भएपछि आफन्त, चिनजान तथा सम्भावित स्थानहरूमा खोजी कार्य तीव्र पारिएको थियो । तर, हालसम्म उनको अवस्था र अवस्थिति अज्ञात नै रहेकाले परिवार गम्भीर चिन्तामा रहेको छ ।
घटनालाई गम्भीर रूपमा लिँदै भारतका प्रहरी निरीक्षक (इन्स्पेक्टर) मनोज कुमार शर्माले सिद्धि मिश्रको सुरक्षित उद्धारमा सहयोग पुर्याउने वा उनको अवस्थिति सम्बन्धी विश्वसनीय सूचना उपलब्ध गराउने व्यक्तिलाई १ लाख भारतीय रुपैयाँ पुरस्कार प्रदान गरिने घोषणा गरेका छन् ।
इन्स्पेक्टर शर्माले सिद्धिसम्बन्धी कुनै पनि जानकारी प्राप्त भएमा वा कतै देखिएमा तुरुन्त सम्पर्क गर्न आग्रह गरेका छन् । यसका लागि उनले आफ्नो मोबाइल/ह्वाट्सएप नम्बर +९१–८८५३७०३७६१ सार्वजनिक गरेका छन् ।
बालिकाको सकुशल खोजी तथा उद्धारका लागि सहयोग पुग्ने विश्वासका साथ उक्त सूचना बढीभन्दा बढी व्यक्तिसम्म पुर्याउन समेत आग्रह गरिएको छ ।