×

वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहका स्वकीय सचिव सत्यराज घिमिरेलाई प्रहरीले पर्सा जिल्ला अदालत परिसरबाट पक्राउ गरेको छ ।

वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी निरीक्षक नवीन थापा मगरको नेतृत्वमा खटिएको प्रहरी टोलीले घिमिरेलाई पर्सा जिल्ला अदालत परिसरबाटै नियन्त्रणमा लिएको हो ।

नागरिकता लिखतसम्बन्धी कसुरमा अनुसन्धानका लागि पर्सा जिल्ला अदालतले मेयर सिंहविरुद्ध गत मङ्गलवार पक्राउ पुर्जी जारी गरेको थियो । त्यही विषयमा कानुनी प्रक्रिया बुझका लागि मेयरका स्वकीय सचिव घिमिरे सोमबार बिहान १० बजेतिर पर्सा जिल्ला अदालतमा गएकै बेला प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगेको मेयर सिंहका प्रेस सल्लाहकार नवराज फुयाँलले जानकारी दिए ।

फुयाँलले भने, ‘आज अदालतमा मेयर साब हाजिर हुने भन्ने कुरा थियो । त्यही विषयमा कानुनी प्रक्रिया बुझ्नका लागि घिमिरे अदालतमा जानु भएको थियो । त्यही बेला प्रहरीले सोधपुछ गर्नु छ भन्दै घिमिरेलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयमा लगे ।’

यता जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एंव प्रहरी नायब उपरीक्षक (डिएसपी) हरिबहादुर बस्नेतले भने मेयरका बारेमा बुझका लागि घिमिरेलाई प्रहरीले लिएर आएको बताए । उनले भने, ‘सोधपुछका लागि प्रहरीले घिमिरेलाई लिएर आएको हो । नियन्त्रण वा पक्राउ गरेको भने होइन ।’

गत मङ्गलवार (जेठ १२ गते) पक्राउ पुर्जी जारी भएपछि त्यसको भोलिपल्टै बुधवार बिहान मेयर सिंह आफै पर्सा जिल्ला अदालतमा उपस्थित भएका थिए । त्यसदिन अदालत प्रशासन कक्षमा आफै पुगेका मेयर सिंहले आफूविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको जानकारी सञ्चारमाध्यममार्फत पाएपछि न्यायिक प्रक्रियामा सहयोग पुर्‍याउन स्वेच्छाले आफू अदालतमा उपस्थित भएको बताएका थिए । तर त्यसदिन मुद्दाको चाप बढी भएका कारण आफूविरुद्धको मुद्दाको सुनुवाइ सुनुवाइ हुन नसक्ने अवस्था रहेको अदालत प्रशासनबाट जानकारी पाएपछि अदालतबाट फर्किएको उनले बताएका थिए ।

त्यसदिन मेयर सिंहले आफू अदालतको समन्वयमै रहेको भन्दै सार्वजनिक बिदा सकिएपछि फेरि आफै अदालतमा उपस्थित हुने जानकारी अदालत प्रशासनलाई गराएर अदालतबाट फर्किएको बताएका थिए ।

पर्सा जिल्ला अदालतले मङ्गलवार नागरिकता लिखत सम्बन्धी मुद्दामा मेयर सिंह, उनकी कान्छी श्रीमती सिन्धुपाल्चोकको इन्द्रावती नगरपालिकाकी रिता भट्टराई र वीरगञ्ज महानगरपालिकाका वडा नम्बर ३ का तत्कालीन स्थानीय पञ्जिकाधिकारी भिखारी रायविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

मेयर सिंहले रिता भट्टराईकी छोरी रुविना श्रेष्ठलाई आफ्नो छोरी बनाएर फर्जी जन्मदर्ताको आधारमा नागरिकता बनाएर लिखित सम्बन्धी कसुर गरेको आरोपमा दायर मुद्दामा पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेको हो । जबकि मेयर सिंहले भट्टराई आफ्नो दोस्रो श्रीमती भएको दाबी गर्दै आएका छन् ।

सरकारी वकिलको कार्यालयका अनुसार वीरगञ्ज–३ का लियाकत अलीले २०८० साल माघमा जिल्ला प्रहरी कार्यालय पर्सामा मेयर सिंहविरुद्ध सरकारी कागजात किर्ते र नागरिकता किर्ते विषयमा उजुरी दिएका थिए । त्यही उजरीका आधारमा मेयर सिंहविरुद्ध चार वटा मुद्दा परेकोमा पर्सा जिल्ला अदालतले लिखत सम्बन्धी कसुरमा पक्राउ पुर्जी जारी गरेको अदालतका श्रेस्तेदार प्रभाकर मल्लिकले गत मङ्गलवार बताएका थिए ।

Back to top