वीरगञ्ज । इन्डियन प्रिमियर लिग (आइपिएल) २०२६ को बहुप्रतिक्षित फाइनल खेल आज हुँदै छ । साबिक विजेता रोयल च्यालेन्जर्स बेंगलुरु र गुजरात टाइटन्सबिच उपाधिका लागि प्रतिस्पर्धा हुन लागेको हो ।
फाइनल खेल नेपाली समय अनुसार आइतबार साँझ ७:४५ बजे अहमदाबादस्थित विश्वकै सबैभन्दा ठुलो क्रिकेट मैदानमध्ये एक नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ । करिब एक लाख ३० हजार दर्शक क्षमता रहेको उक्त मैदानमा रोमाञ्चक भिडन्तको अपेक्षा गरिएको छ ।
पहिलो क्वालिफायरमा पराजित भएको गुजरातले दोस्रो क्वालिफायरमा उत्कृष्ट पुनरागमन गर्दै फाइनल यात्रा तय गरेको हो । दोस्रो क्वालिफायरमा राजस्थान रोयल्सलाई सात विकेटले पराजित गर्दै गुजरात उपाधि नजिक पुगेको हो ।
जिटी यसअघि पहिलो क्वालिफायरमा बेंगलुरुसँग पराजित भएको थियो । त्यसैले आजको खेल गुजरातका लागि बदला लिने अवसरका रूपमा पनि हेरिएको छ ।
समूह चरणका १४ खेलमध्ये ९ जितसहित १८ अङ्क जोड्दै शीर्ष स्थानमा रहँदै बेंगलुरु पहिलो क्वालिफायरमार्फत सोझै फाइनलमा पुगेको हो । सन्तुलित टोली संयोजन, मजबुत ब्याटिङ लाइनअप र प्रभावकारी बलिङ प्रदर्शनका कारण बेंगलुरु यस सिजन निरन्तर लयमा देखिएको छ ।
लगातार दोस्रो पटक आइपिएल उपाधि उचाल्ने लक्ष्यसहित बेंगलुरु मैदान उत्रिनेछ । अनुभवी र युवा खेलाडीहरूको संयोजनले टोलीलाई बलियो बनाएको विश्लेषकहरूको भनाइ छ ।
रोमाञ्चक प्रतिस्पर्धाको अपेक्षा
अहमदाबादको पिच प्रायः ब्याटिङमैत्री मानिन्छ, जसका कारण उच्च स्कोरको खेल हुने सम्भावना छ । साँझको समयमा ओस (ड्यु) को प्रभाव पर्ने भएकाले टसले पनि महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।
दुवै टोलीमा आक्रामक ब्याट्सम्यान, अनुभवी अलराउन्डर र धारिलो बलिङ आक्रमण रहेका कारण खेल प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ । समर्थकहरू भने सामाजिक सञ्जाल र मैदानमा आफ्नो टोलीको समर्थनमा उत्साहित देखिएका छन् ।
आइपिएल २०२६ को उपाधि कसले जित्ने भन्ने चासो विश्वभरका क्रिकेट समर्थकमाझ चुलिएको छ । आजको फाइनलले यस सिजनको उत्कृष्ट टोलीको टुंगो लगाउनेछ ।