×

वीरगञ्ज । एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत समूह चरणको पहिलो खेलमा नेपालले चीनसामु ३१४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ ।

सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा चीनले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा २ विकेट गुमाएर ३१३ रनको उच्च योगफल तयार पारेको हो ।

नेपालको ऐतिहासिक इनिङ्समा ओपनर कुशल भुर्तेल नायक बने । उनले ४३ बलमा ५ चौका र १६ छक्का प्रहार गर्दै १२९ रनको विस्फोटक पारी खेले । भुर्तेलले मात्र ३५ बलमा १२ छक्का र ४ चौकाको मद्दतमा शतक पूरा गरेका थिए ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो उनको दोस्रो शतक हो । यससँगै उनी टी–२० आईमा दुई शतक बनाउने पहिलो नेपाली खेलाडी बनेका छन् । साथै, उनले यही खेलमार्फत टी–२० आईमा दुई हजार रन पनि पूरा गरे ।

भुर्तेलले नवौँ ओभरमा लगातार ६ बलमा ६ छक्का प्रहार गर्दै नयाँ कीर्तिमान पनि बनाए । उनी एकै ओभरमा ६ छक्का प्रहार गर्ने विश्वका छैटौँ तथा नेपालका दोस्रो खेलाडी बने । यसअघि नेपालका दीपेन्द्रसिंह ऐरीले यो उपलब्धि हासिल गरेका थिए ।

दोस्रो विकेटका लागि भुर्तेल र कुशल मल्लले १७५ रनको साझेदारी गरे । मल्लले ४७ बलमा ८ चौका र ५ छक्का प्रहार गर्दै अविजित ८५ रन बनाए ।

त्यस्तै, कप्तान रोहित पौडेलले २१ बलमा ५ चौका र ७ छक्का प्रहार गर्दै अविजित ६९ रनको आक्रामक पारी खेले । मल्ल र पौडेलले तेस्रो विकेटका लागि अविजित ११६ रनको साझेदारी गरे । आसिफ शेख ११ रनमा आउट भए ।

टी–२० अन्तर्राष्ट्रियमा नेपालले बनाएको यो दोस्रो उच्च स्कोर हो । यसअघि नेपालले २०२३ मा हाङझाउ एसियन गेम्समा मंगोलियाविरुद्ध ३ विकेटको क्षतिमा ३१४ रन बनाएको थियो ।

यस उत्कृष्ट ब्याटिङ प्रदर्शनसँगै नेपालले एसियन गेम्स छनोटको पहिलो खेलमै बलियो सुरुआत गरेको छ । अब चीनले खेल जित्न २० ओभरमा ३१४ रन बनाउनु पर्नेछ ।

Back to top