अरू दिनजस्तो विमानको उडानमा आज खासै विलम्ब थिएन । पोखराका लागि बिहान ७ बजेका लागि उडान निर्धारित थियो । म भक्तपुरको बालकोटस्थित घरबाट त्रिभुवन विमानस्थलका लागि प्रस्थान गर्दा बिहानको करिब ६ बजेको थियो । निश्चित समयमै उडान भएकाले धेरैबेर कुर्नुपरेन । गन्तव्य थियो – बागलुङ । नेपाल पत्रकार महासंघ जिल्ला शाखाद्वारा आज र भोलि (२०८२ चैत २० र २१) बागलुङ मिडिया मेलाको आयोजना हुँदैे थियो । कार्यक्रमको १ जना सहभागी म पनि थिएँ । पत्रकार महासंघका महासचिव रामप्रसाद दाहाललगायत कार्यक्रममा काठमाडौँबाट जानुपर्ने केही साथी हिजै त्यसतर्फ गइसकेका थिए । म आयोजक संस्थाका अध्यक्ष रामबहादुर थापा (जो राष्ट्रिय समाचार समिति (रासस)मा कार्यरत छन्) सँग लगातार सम्पर्कमा थिएँ । उनीबाट प्राप्त जानकारीका आधारमा मैले आफ्नो यात्रा अघि बढाइरहेको थिएँ ।
मिडिया मेलाका लागि बागलुङको यात्रा
अध्यक्ष थापा र पत्रकार प्रकाश बरालले करिब १५ दिनअघि जति मलाई जानकारी गराएर आमन्त्रण गरेका थिए । आमन्त्रणको समयमा म राससमा कार्यरत थिएँ । तर, चैत १६ गते (नेपाल पत्रकार महासंघको स्थापना दिवसका दिन) नयाँ जनादेश प्राप्त सरकारको सहजताका लागि मार्गप्रशस्त गर्नु उचित ठानेर राससको अध्यक्ष पदबाट नैतिकताका आधारमा मैले राजीनामा दिएको थिएँ । राजीनामापछि एक दिन मैले अध्यक्ष थापालाई टेलिफोनमा जिस्किँदै सोधेकोे थिएँ – राम, बागलुङको मिडिया मेलामा मलाई निम्तो कि राससको अध्यक्षलाई ? उनले भने, ‘पत्रकार महासंघको पूर्वकेन्द्रीय अध्यक्ष र पत्रकारिताको प्रशिक्षकलाई निम्तो हो ।’ उनको उत्तरपछि म त्यस कार्यक्रममा सहभागी हुने निष्कर्षमा पुगेको थिएँ ।
राससको जिम्मेवारीबाट निवृत्त भएपछि उपत्यका बाहिरको यो मेरो पहिलो भ्रमण थियो । म तत्कालका लागि काठमाडौँको गन्जागोलबाट मुक्त हुन चाहन्थेँ भने मिडिया मेलामा सहभागी भएर पत्रकार साथीहरूसँग भेटघाटका साथै मिडियाको नयाँ विषयवस्तु तथा आयामबारे जानकारी लिन चाहन्थेँ । भ्रमणको अर्को उद्देश्य पनि थियो – मैथिली भाषामा भर्खरै प्रकाशित मेरो यात्रासंग्रह जगन्मुक्ति (जगन्नाथ र मुक्तिनाथको यात्रा संस्मरण समेटिएको पुस्तक)को बागलुङको मिडिया मेलाको उद्घाटन सत्रमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेबाट लोकार्पण गरिने कार्यक्रम पनि निश्चित थियो ।
पोखरा विमानस्थलमा यती एअरको विमान अवतरणलगत्तै प्रेस युनियनका महासचिव बागलुङवासी दिलीप पौडेलको फोन आयो । उनी बागलुङबाट सोधिरहेका थिए, ‘दाइ कहाँ पुग्नुभयो ? आउने व्यवस्था के छ ?’ उनले मेरो पूरा कुरा नै नसुनी भने, ‘पोखराबाट गण्डकी प्रेस रजिस्ट्रार विमला भण्डारी बागलुङ आउने कार्यक्रम छ, सँगै आउनुस् है ।’ मैले स्पष्ट केही जबाफ दिन सकिनँ । काठमाडौँबाट आउँदा मेलामा सहभागी हुन जाने म एक्लै हुँलाजस्तो लागेको थियो । तर, पोखरा आएर पत्रकार भाषा शर्मा भेटिएपछि थाहा भयो – उनी मेरो यात्राको साथी बन्ने भइछन् । त्यति मात्र होइन, उनी मेलामा म सहभागी हुने सत्रको सञ्चालिका पनि रहिछन् । मैले दिलीपलाई भनेको थिएँ – म एक्लै छैन, विमलाको गाडीमा ठाउँ हुन्छ कि हुन्न ? दिलीपको उत्तर नआउँदै बागलुङबाट निर्वाचित प्रदेशसभा सांसद डिल्ली सुवेदीसँग विमानस्थलमै भेट भयो । उनी म चढेकै विमानका यात्री रहेछन् र बागलुङसम्मको उनको, मेरो र भाषाको गन्तव्य एउटै थियो । मैले तत्काल फोन गरेर दिलीपलाई जानकारी दिएँ – भाइ चिन्ता नलेऊ । म डिल्ली माननीयसँग उनकै गाडीमा आउँदै छु ।
लुम्लेको नेपाली कफी : नवीनको उद्यमशीलता अनुकरणीय
हामीले पोखरा छाड्दा करिब ९ बजिसकेको थियो । पोखरा बजारतिरै अलि माथि उक्लिएपछि हामीसँग मिसिए कृषि अभियन्ता सुजन देवकाटा । अब हामी गाडीमा चालकसहित ५ जना थियौँ । डिल्लीजी उदघाट्न सत्रका अतिथि थिए । उनी कार्यक्रमबारे जानकारी लिँदै यात्राको संयोजन गरिरहेका थिए । हामीले चिन्ता लिनुपर्ने खासै कारण थिएन । गाडीमा डिल्लीजीले नै दिएको जानकारीका आधारमा उनकै नेतृत्वमा हामी नागडाँडास्थित भण्डारी रेस्टुरेन्ट र लुम्लेको सहकारी चोकस्थित लुम्ले कफी स्टेटमा अडिएका थियौँ । भण्डारीजीको रेस्टुरेन्टको खाना, खाजा र चिया निकै प्रसिद्ध छ रे ! अरूले त पहिला नै यहाँको स्वाद लिइसकेका थिए, म नयाँ थिए । मैले चियाको स्वाद लिएँ – राम्रो लाग्यो ।
त्यहाँबाट केही अघि लागेपछि हामी लुम्लेको सहकारी चोकमा रहेको नवीन देवकोटाजीको कफी स्टेटमा रोकियौँ । नवीन कफी उत्पादन त गर्छन् नै, कफीको स्वाद पनि चखाउँछन् । हामीले उनको पसलमा कफीको स्वाद लिएका थियौँ । स्थानीय स्तरमै उत्पादित कफी वास्तवमै स्वादिलो थियो । विदेशको रोजगारी त्यागेर स्थानीय स्तरमा उद्यमशीलताको उत्कृष्ट परिचय दिइरहेका नवीनले कफीको मागअनुसार आपूर्ति गर्न सकिरहेका छैनन् । यहाँ कफीका पारखीको बाक्लै उपस्थिति देखिने गरेको छ । यो यात्रा मेरा लागि निकै लाभदायी रह्यो । डिल्लीजीको सानिध्यले मैले गण्डकी प्रदेश र बागलुङका बारेमा नयाँ ढंगले जानकारी प्राप्त गर्न सकेँ । यसअघि मेरो बुझाइ कमजोर रहेको कतिपय विषयमा डिल्लीजीले मलाई स्पष्ट बनाएका थिए ।
महत्वपूर्ण छ सहस्रधाराको ‘उकेरा’
हामी अघि बढिरहेका थियौँ, पर्वतको सहस्रधारास्थित ‘उकेरा’ ह्युमपाइप उद्योगका सामुन्ने गाडी रोकियो । यो ठाउँ १०० वटा धारा भएको आध्यात्मिक पर्यटकीय स्थानका रूपमा पनि चर्चित छ । मैले सोधेँ, ‘किन रोकेको गाडी ?’ डिल्लीजीले भने, ‘दाइ राजनीतिबाट आम्दानी हुँदैन, खर्च मात्र हो । यो तपाईंको भाइको गरिखाने मेलो हो ।’ डिल्लीजीको कुरा सुनेर मलाई औधी खुसी लाग्यो । लाग्यो – देशमा डिल्लीजीजस्ता युवा राजनीतिकर्मी पनि छन्, जो स्वरोजगारका आधारमा मूल्यकेन्द्रित राजनीति गर्छन् र राजनीतिलाई पेसा बनाउन चाहँदैनन् । मैले उनको यो उद्यम देखेर भारतका चर्चित राजनीतिज्ञ अर्थशास्त्री पी. चिदम्बरमको कुरा सम्झिएँ । उनले एक ठाउँमा भनेका छन् – दक्षिण एसियाको राजनीति भ्रष्ट हुनुको एउटा कारण यो पनि हो कि – धेरैले राजनीतिलाई पेसा बनाए र जीवनयापनको आधार पनि । चिदम्बरमले भनेका छन् – राजनीति गर्नेको कम्तीमा एउटा पान पसल भए पनि हुनुपर्छ, जहाँबाट उसको र परिवारको गुजारा चलोस् ।
मैले डिल्लजीलाई उनको यो सत्प्रयासका लागि धन्यवाद दिएँ । हामी त्यहाँबाट अघि बढ्यौँ । गाडीमा हामी यिनै विषयमाथिको चर्चामा केन्द्रित भयौँ । गाडीको यो यात्राबाट मलाई अर्को पनि लाभ भयो । भोलिका लागि निर्धारित हाम्रो सत्र –पत्रकारिताको भाषा र शैली ः शिष्ट कि आक्रामक ? भन्ने सम्बन्धमा सत्र सञ्चालिका भाषासँग छलफल गर्ने अवसर मिल्यो र मैले केही धारणा बनाउन सकेँ ।
बागलुङ अर्थात् बाघको वासस्थान
हामी करिब ११ बजेतिर बागलुङ बजार पुगेका थियौँ । बागलुङ मेरालागि नयाँ होइन । म यहाँ अनेकौँपटक आएको छु । यही वर्षको प्रारम्भ अर्थात् २०८२ वैशाखको अन्तिम दिन पनि म यहीँ थिएँ । बागलुङले प्रदान गर्ने आतिथ्य मलाई प्रत्येकपटक विशेष लाग्ने गर्छ । स्थानीय जानकारका अनुसार ‘बागलुङ’ शब्दको उत्पत्ति बाघ र लुङ दुइटा शब्द मिलेर भएको हो । स्थानीयका अनुसार ‘बाग’ शब्द बाघको पर्याय बनेको छ भने मगर भाषामा ‘लुङ’को अर्थ ढुंगा वा चउर भन्ने हुन्छ । पहिले यहाँ बाघहरू बस्ने ओडार र चउरहरू भएकाले यसलाई ‘बागलुङ’ भन्न थालिएको विश्वास गरिन्छ । यस्तै बागलुङको नामकरणका सन्दर्भमा अन्य मान्यता पनि छन् । तर, सबैभन्दा लोकप्रिय किंवदन्तीका रूपमा माथि चर्चा गरिएकै सन्दर्भ हो ।
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन आरक्षका कारण पनि चर्चित बागलुङलाई झोलुंगे पुलको जिल्ला भनेर पनि चिनिन्छ । कालिका भगवतीको वासस्थानका रूपमा समेत परिचित बागलुङ पछिल्लो दिनमा शालग्राम संग्रहालय र पञ्चकोट स्थानका कारण पनि देश–विदेशमा चर्चित बनेको छ ।
पञ्चकोट बन्दै छ नयाँ चिनारी
पछिल्लो समयमा पञ्चकोट महत्वपूर्ण धार्मिक र पर्यटकीय गन्तव्यका रूपमा विकसित भइरहेको छ र यसले जिल्लालाई नै एक विशिष्ट चिनारी प्रदान गरिरहेको छ । बागलुङ नगरपालिका–६, सर्वसिद्धिधाममा अवस्थित पञ्चकोट बागलुङ बजारबाट गाडीमा २०–२५ मिनेटमा पुग्न सकिन्छ । विगतमा बागलुङ भ्रमणमा रहँदा मैले यहाँ जान चाहे पनि जान सकेको थिइनँ । यसपटक भने साइत जुर्यो । मेलाको दोस्रो दिन बिहानै हामी (पत्रकारहरू रामप्रसाद दाहाल, रमेश पौडेल, विमला भण्डारी, स्याङ्जाका पत्रकार ओम शर्मा, भवानी र उनकी छोरी सदीक्षा) पञ्चकोट गइयो । त्यहाँ पुग्दा लाग्यो – नगएको भए त ठुलै कुराको अनुभूति गर्नबाट वञ्चित भइने रहेछ ।
कारिकाकोट, ताराजालकोट, माझकोट, रायँरायँकोट र संसारकोटलगायत ५ वटा ‘कोट’को संगमस्थल भएकाले यसलाई ‘पञ्चकोट’ भनिएको हो । यो स्थानको विकासमा स्वामी कमलनयनाचार्यको ठुलो भूमिका छ । उनकै सपना हो – पञ्चकोटको आध्यात्मिक संरचना । उनकै पहलमा यहाँ विशाल धार्मिक संरचनाहरू निर्माण भइरहेका छन् । यहाँ निर्माण भइरहेको १०८ फिट अग्लो ‘विश्वशान्ति कलश’ का कारण यो ठाउँ पर्यटकीय आकर्षणको केन्द्र बन्दै छ । सायद केही आर्थिक कारणले यसको निर्माण कार्य प्रभावित भएजस्तो लाग्छ । खोजी गर्नु जरुरी छ – यसो हो भने राज्यको प्राथमिकतामा यसको निर्माण पर्नुपर्छ । यस्तै यहाँ हनुमानको विशाल मूर्ति, गरुड शिला, महाघण्ट र विभिन्न देवदेवीका भव्य मन्दिर छन् । संयोगले स्वामी कमलनयनाचार्य त्यस दिन त्यहीँ रहेछन् । हामीले उनीसँग पनि भेट्यौँ । उनका कुरा सुन्यौँ र आशीर्वाद ग्रहण गर्यौँ ।
मिडिया मेलामा जगन्मुक्ति
कुरा त थोरै अन्त पो गयो कि क्या हो । पहिलोदिनको कुरै नगरी दोस्रो दिनको चर्चामा हामफालिएछ । मैले माथि उल्लेख गरेँ, हामी चैत २० गते पूर्वाह्न करिब ११ बजेतिर बागलुङ पुगेर खाना खाने कार्य सम्पन्न गरी कार्यक्रमस्थल ज्वजोल्पा ब्यांक्वेटतिर लागेका थियौँ । झन्डै १२ बजेतिर मुख्यमन्त्रीको आगमनपश्चात् कार्यक्रम प्रारम्भ भएको थियो । सोही अवसरमा माथि उल्लेख गरेअनुसार मुख्यमन्त्रीबाट मेरो मैथिली यात्रा कृति जगन्मुक्तिको लोकार्पण भएको थियो । यस कृतिमा विश्वको सर्वोेच्च स्थानमा रहेका नारायणका प्रतिरूप मुक्तिनाथ र समुद्र किनारमा अवस्थित नारायणका अर्का प्रतिरूप जगन्नाथको यात्रा र दर्शनका बारेमा मैथिली भाषामा चर्चा गरिएको छ । लोकार्पणको तारतम्य मिलाइदिएकामा शाखाका अध्यक्ष थापा, पत्रकार बराल र मुख्यमन्त्री पाण्डेका प्रेस सल्लाहकार नरहरि सापकोटाप्रति अनेक धन्यवाद ।
कुनै दुईमत छैन – कार्यक्रम निकै भव्य थियो । कार्यक्रमलाई सफल बनाउन आयोजकहरूले निकै मिहिनेत गरेको स्पष्ट अनुभूत हुन्थ्यो । २ दिने मिडिया मेला सफल बनाउन पत्रकार महासंघका अध्यक्ष राम थापाको नेतृत्वकारी भूमिका त महत्वपूर्ण थियो नै, पत्रकारहरू प्रकाश बराल, दिल शिरिष, सुवास आचार्य, सिर्जना पन्त, नारायण रिजाल, ज्ञानेन्द्र गौतम, मुकेशचन्द्र राजभण्डारी, हरिनारायण गौतम, रामबहादुर जिसी, डम्बर बुढामगर, खेमराज गौतम, संगम घर्ती, नवराज परियारलगायतको भूमिका पनि निर्णायक रहेको मेरो निष्कर्ष थियो । जिल्लामा विगतमा प्रयोग भएका सञ्चार यन्त्रहरूको प्रदर्शनी, तस्बिर प्रदर्शनी, भित्ते पत्रिका प्रतियोगिता, पुस्तक प्रदर्शनी, प्रत्यक्ष चित्रकारिता आदिले मेलालाई निकै उपलब्धिमूलक बनाएको थियो ।
२ दिन १० सत्र : पत्रकारिताका विविध विषयमा छलफल
मेलाअन्तर्गत २ दिनका १० सत्रमा भएका विचारविमर्शले अनकौँ विषयमा विचार निर्माणको प्रयास गरेको मान्न सकिन्छ । यी सत्रमार्फत् पत्रकारको पेसागत सुरक्षाको ग्यारेन्टी, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सुनिश्चिततामा जोड दिइनुका साथै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यममा मात्रै प्रकाशन गर्ने सरकारी निर्णयको विरोध पनि गरिएको थियो । यस्तै, गिद्धे प्रेसदेखि एआईसम्म, मिडिया स्वयंको संकटपूर्ण बहसदेखि सीमान्त आवाजसम्म, बागलुङको विकास र समृद्धिको भविष्यदेखि स्थानीय सरकारको खोजीसम्म भएको छलफलले मेलालाई अर्थपूर्ण बनाएको थियो । मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको निर्माणले बागलुङको विकास र समृद्धिको खाका कोरिएको सन्र्दभमा कोरला नाका सञ्चालनका लागि सरकारको ध्यानाकर्षण गराउने कार्य पनि मेलाले गर्यो ।
महासचिव दाहालको सत्र पहिलो दिन नै सम्पन्न भए पनि मेरो सत्र भने दोस्रो दिन मात्र थियो । उनी काठमाडाँैसँगै जाने भनेर मेरालागि १ दिन कुरे – आभार व्यक्त गर्छु । दोस्रो दिन मेरो सत्र सम्पन्न हुँदा अपराह्नको करिब साढे ३ बजिसकेको थियो । साढे ५ बजेसम्म हामीले पोखरा विमानस्थल पुगिसक्नुपर्ने थियो । आयोजकले व्यवस्था गरिदिएको गाडीमा म, भाषा अनि दाहाल सवार भयौँ र लाग्यौँ पोखरातिर । अघि बढ्दा बाघको मूर्ति भएको चोक आयो । यसलाई बाघचोक भनिन्छ । फर्केर बाघको मूर्तितर्फ हेरेँ । मलाई लाग्यो – बाघले सोधिरहेको छ– ए… यसपटक मलाई हेर्न आउन पनि भ्याइएन है ! म फिस्स हाँसेँ मात्र ।हाम्रो गाडी अघि बढिरहको थियो । हामी ३ जनाबीच छलफलको विषय थियो – हिजो रातिको सांस्कृतिक कार्यक्रम ।
बागलुङको सांस्कृतिक गतिविधिको झल्को दिने त्यो कार्यक्रम यस्तो थियो, लाग्थ्यो सम्पूर्ण बागलुङको गीत, संगीत र नृत्य त्यहीँ एकत्रित हुन पुगेका छन् । हाम्रो गाडी अगाडि बढिरहे पनि मलाई लागिरहेको थियो – मेरो मन त पछाडि नै पो छुट्यो कि क्या हो ।