मुम्बई । बलिउडकी सदाबहार अभिनेत्री काजोलले आफ्नो ३० वर्ष लामो फिल्मी करियरमा पहिलो पटक अनस्क्रिन ‘किस’ गर्दाको अनुभव सार्वजनिक गरेकी छन्।
दिलवाले दुल्हनिया ले जाएंगे, कुछ कुछ होता है र कभी खुसी कभी गमजस्ता ब्लकबस्टर फिल्महरूमा अभिनय गर्दा सधैँ ‘नो किसिङ पोलिसी’ पछ्याएकी काजोलले सन् २०२३ मा रिलिज भएको वेब सिरिज ‘द ट्रायल : प्यार, कानुन, धोका’ मार्फत उक्त नियम तोडेकी थिइन् ।
लिली सिंहको पोडकास्टमा कुरा गर्दै काजोलले यो आफ्नो लागि कुनै रहर नभई पात्रको माग भएको स्पष्ट पारेकी छन्। सिरिजमा आफ्ना को–स्टार जिस्सू सेनगुप्तासँगको किसिङ सिनका बारेमा उनले भनिन्, ‘साँचो भन्नुपर्दा यो उक्त भूमिकाको आवश्यकता थियो। यो केवल एउटा किस मात्र थिएन, बरु त्यस पात्रको सोच, चाहना र उसको जीवनमा घटेका घटनाहरूको एउटा महत्वपूर्ण पाटो थियो। यदि उक्त दृश्य हटाएको भए पात्रको एउटा महत्त्वपूर्ण हिस्सा नै अधुरो हुने थियो।’
काजोलले सुटिङको समयमा आफू निकै मानसिक तनाव र असहजतामा रहेको समेत खुलासा गरिन्। सेटमा पुग्दासम्म पनि उनी यो सिन गर्न सकिन्छ वा सकिँदैन भन्नेमा दुविधामा थिइन्। उनले भनिन्, ‘म निकै अनकम्फर्टेबल थिएँ। मलाई लाग्थ्यो कि म बीचमै ‘कट भनेर यो हुँदैन भनिदिन्छु कि ! तर अन्ततः मैले यसलाई एउटा व्यावसायिक निर्णयका रूपमा लिएँ र सुटिङ पूरा गरेँ।’
अमेरिकी शो ‘द गुड वाइफ’ को भारतीय संस्करण रहेको ‘द ट्रायल’ मा काजोलले नोयोनिका सेनगुप्ताको भूमिका निर्वाह गरेकी छन्, जो आफ्नो श्रीमानकाे स्क्यान्डलपछि पुनः कानुनी अभ्यासमा फर्किन्छिन्। जियो हटस्टारमा उपलब्ध यो सिरिजमार्फत काजोलले ओटीटीको दुनियाँमा डेब्यु समेत गरेकी थिइन्।