×

मुम्बई । हिन्दी सिनेमाका हरेक कालजयी गीतका पछाडि कुनै न कुनै रोचक कथा लुकेको हुन्छ। बलिउडका चर्चित लेखक तथा गीतकार जावेद अख्तरले फिल्म उद्योगलाई कयौँ यादगार गीत, गजल, फिल्म र संवादहरू दिएका छन्।

तर, उनले लेखेको एउटा प्रख्यात गजलको किस्सा भने निकै अचम्मको छ, जसलाई थाहा पाएर जो कोही पनि आश्चर्यमा पर्न सक्छन्। उनले बलिउडको एउटा सदाबहार रोमान्टिक गजल मात्र ९ मिनेटमा लेखेर सिध्याएका थिए।

हामी सन् १९८२ मा रिलिज भएको फिल्म ‘साथ साथ’ को प्रख्यात गीत ‘तुमको देखा तो ये ख्याल आया’ को कुरा गरिरहेका छौँ। यो गजललाई जावेद अख्तरले ८ पेग रक्सी पिएपछि नसाको हालतमा लेखेका थिए।

मूल रूपमा यो गजललाई गजल सम्राट जगजीत सिंह र चित्रा सिंहले गाएका हुन्, जसलाई फिल्ममा विभिन्न तरिकाले प्रयोग गरिएको छ। यस गीतको शब्द लेख्ने जिम्मेवारी जावेद अख्तरलाई दिइएको थियो र उनले नसाकै सुरमा यसको सिर्जना गरेका थिए। यो कुरालाई स्वयं जावेद अख्तरले पनि स्वीकार गरेका छन्।

कोलकातामा आयोजित फिक्कीको एउटा कार्यक्रममा जावेद अख्तरले यो रमाइलो किस्सा सुनाएका थिए। उनका अनुसार फिल्म ‘सिलसिला’ पछि निर्देशक यश चोपडाका चौथो असिस्टेन्ट डाइरेक्टर उनीकहाँ आएर आफ्नो फिल्मका लागि गीत लेखिदिन अनुरोध गरेका थिए।

ती असिस्टेन्टसँग धेरै पैसा नभए पनि जावेद गीत लेख्न तयार भए। उनले भनेका छन्, ‘ती दिनहरूमा म अत्यधिक रक्सी पिउने गर्थेँ। ती बिचरा असिस्टेन्ट दिनहुँ मकहाँ आउँथे र गीतका लागि सोध्थे।’

जावेदले अगाडि सुनाएका छन्, ‘हरेक दिन हामी राती २ बजेसम्म बसेर कुराकानी गर्थ्यौँ र रक्सी पिउँथ्यौँ। गीत लेख्ने कुरा सधैँ टरेर जान्थ्यो। एक दिन ती बिचराले मलाई फेरि गीतका बारेमा सोधे। त्यसबेला रातिको २ बजिसकेको थियो र मैले ८ वा ९ पेग पिइसकेको थिएँ। त्यसपछि मैले कागज र कलम मागेँ र मात्र ९ मिनेटमा गीत लेखेर उनको हातमा थमाइदिएँ। पछि त्यही गीत जगजीत सिंहले गाए, जसको बोल ‘तुमको देखा तो ये ख्याल आया’ थियो।’

जावेद अख्तरले सो गीत मात्र ९ मिनेटमा लेख्नुको कारण पनि खुलाएका छन्। उनले भनेका छन्, ‘मैले त्यो गीत ९ मिनेटमा यसकारण लेखेँ किनभने ती असिस्टेन्टले आफ्नो अन्तिम ट्रेन समात्नु पर्ने थियो र उनी बारम्बार घडी हेरिरहेका थिए। त्यसैले मैले हतार-हतारमा त्यो गीत लेखेर उनलाई दिएको थिएँ।’

यो सदाबहार गजल फिल्ममा अभिनेत्री दीप्ती नवल र अभिनेता फारुख शेखमाथि छायांकन गरिएको छ।

Back to top