×

शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजनामा नवौं केएनपी राष्ट्रिय महिला भलिबलको उपाधिका लागि आज टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लब र नेपाल प्रहरी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ। 

उपाधिका लागि यी दुई टोलीबीचको दिउँसो साढे १ बजे सुरु हुनेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा त्यसअघि तेस्रो स्थानका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी र एपीएफ क्लबबीच खेल हुनेछ। 

प्रतियोगितामा ३ विभागीय टोली नेपाल पुलिस क्लब, एपिएफ क्लब, त्रिभुवन आर्मी क्लब र टिप टप न्यु डायमण्ड युथ स्पोर्टस क्लबको सहभागिता रहेको थियो। 

राउन्ड रोबिन लिगपछि शीर्ष दुई टोलीले‌ फाइनल र पुछारमा दुई टोली तेस्रो स्थानका‌ लागि प्रतिस्पर्धा गर्न लागेका हुन्।

२०७२ सालदेखि हरेक वर्ष राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ। 

प्रतियोगिताको विजेता टोलीले उपाधिसहित ५ लाख रुपैयाँ , दोस्रोले २ लाख ५० हजार , तेस्रो टोलीले १ लाख २५ हजार र चौथो टोलीले ६२ हजार ५ सय रुपैयाँ प्राप्त गर्नेछन्।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई ५० हजार रुपैयाँ सँगै अन्य आकर्षक पुरस्कार प्रदान गरिनेछ। विधागततर्फ उत्कृष्ट हुनेलाई जनही २५ हजार र हरेक खेलको प्लेयर अफ द म्याचलाई १५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ। यस्तै  एक जना राष्ट्रिय खेलाडीलाई ५० हजार रुपैयाँसहित शेरबहादुर खड्‌का स्पेसल अवार्डबाट सम्मानित गरिनेछ।

Back to top