×

वीरगञ्ज । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) बिच पार्टी एकताको प्रक्रिया अन्तिम चरणमा पुगेको छ । स्रोतका अनुसार दुवै पार्टीबिच आजै एकताको औपचारिक घोषणा हुन सक्ने सम्भावना छ ।

जसपा (अशोक राई पक्ष) का उपाध्यक्ष रेणु यादवले एकताको प्रयासको नेतृत्व गरिरहेकी छन् । पार्टीभित्र बहुमत केन्द्रीय सदस्य आफूहरूसँग रहेको दाबी गर्दै रेणु यादव पक्षले उपेन्द्र यादवको जसपा नेपालसँग संवाद अघि बढाएको हो ।

यसअघि जसपाबाट अलग भएका राजेन्द्र श्रेष्ठ आफ्नो समूह लिएर प्रचण्ड-माधव नेपाल नेतृत्वको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) तर्फ लागिसकेका छन् । बाँकी रहेका नेताहरूसँगै रेणु यादवले एकताको पहल गरेकी हुन् ।

स्रोतले बताएअनुसार अध्यक्ष अशोक राई एकताका लागि पूर्ण रूपमा तयार नदेखिए पनि निरन्तर संवाद भइरहेको छ । ‘अशोक राईलाई समेटेर नै एकता घोषणा गर्ने प्रयास भइरहेको छ । उहाँ सहमत नभएमा रेणु यादवको नेतृत्वमा बहुमत पक्षले जसपा नेपालसँग एकता गर्ने तयारी छ,’ स्रोतले भन्यो ।

पूर्व मन्त्री तथा जसपाका उपमहासचिव प्रदीप यादवले पनि एकताको संवाद चलिरहेको पुष्टि गरेका छन् । उनले भने, ‘वर्तमान राजनीतिक परिस्थितिमा विचार मिल्ने दलहरू एक ठाउँमा आउनुपर्छ । जनताको म्यान्डेट अनुसार उपेन्द्र यादव नेतृत्वको जसपा नेपालसँग एकता गर्ने छलफल अघि बढेको हो ।’

यादवका अनुसार उपाध्यक्ष रेणु यादवले एकताको नेतृत्व गरिरहेकी छन् र अध्यक्ष राईलाई समेट्ने प्रयास जारी छ । तर, राई सहमत नभएमा रेणु यादव, प्रदीप यादव, मोहम्मद इस्तियाक राई, वीरेन्द्र महतो, नवलकिशोर साहलगायतका नेताहरूले एकता अघि बढाउने तयारी गरेका छन् ।

स्मरणीय छ, विक्रम संवत् २०८१ वैशाख २३ गते अशोक राइको नेतृत्वमा जसपा नेपालबाट फुटेर नै जसपा गठन भएको थियो । तत्कालीन स्वास्थ्य मन्त्री समेत रहेका अध्यक्ष उपेन्द्र यादव अमेरिका भ्रमणमा रहेको समयमा अशोक राईले केन्द्रीय सदस्य र केही सांसदहरूलाई आफ्नो पक्षमा लिएर पार्टी फुटाउँदै जसपा गठन गरेका थिए  ।

यसैबिच, आइतबार मात्र महन्त ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल र उपेन्द्र यादवको जसपा नेपालबिच एकताको सहमति भएको छ । सहमतिले मधेस केन्द्रित शक्तिहरूबिच एकताको लहर चलेको सङ्केत गर्छ । जसपा (राई पक्ष) भित्र पनि मधेस केन्द्रित एकतातर्फ दबाब बढेको छ ।

एकताले मधेस केन्द्रित राजनीतिमा नयाँ शक्ति सन्तुलन कायम गर्ने अपेक्षा गरिएको छ । तर अध्यक्ष राईको अडानले प्रक्रिया केही जटिल बनेको छ । सम्भवतः आजै एकताको घोषणा हुने तयारी भइरहेको स्रोतहरूको दाबी छ ।

Back to top