वीरगञ्ज । मधेस प्रदेशका पूर्व राज्यमन्त्री तथा प्रदेशसभा सदस्य रहबर अन्सारीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) निकट व्यक्तिहरूसँग संवाद अगाडि बढाएका छन् ।बालेन निकट स्रोतका अनुसार अन्सारीले नेकपा (माओवादी केन्द्र) परित्याग गरी बालेनसँग सहकार्य गर्ने उद्देश्यले संवाद अगाडि बढाएका हुन् ।
अन्सारी विगत केही दिनदेखि बालेनका सहकर्मीहरूसँग नियमित सम्पर्कमा रहेको स्रोतले बताएको छ । यद्यपि, बालेनसँग ठोस कुराकानी वा भेटघाट भने भएको छैन । बालेन हाल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र अन्य वैकल्पिक शक्तिहरूसँग सहकार्यको गृहकार्यमा व्यस्त रहेकोले अन्सारीसँग प्रत्यक्ष संवाद नभएको दाबी गरिएको छ ।
पर्सा निर्वाचन क्षेत्र नम्बर १ (क) बाट २०७९ को प्रदेशसभा निर्वाचनमा माओवादी केन्द्रबाट विजयी अन्सारी पछिल्लो समय पार्टीसँग पूर्ण रूपमा असन्तुष्ट बनेका थिए । पार्टीभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिने उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का जितेन्द्र सोनल नेतृत्वको सरकारमा मन्त्री बन्ने इच्छा राखेका थिए । तर, पार्टीले अन्य नेतालाई प्राथमिकता दिएपछि उनी रुष्ट भए ।
अन्सारीको असन्तुष्टि सबैभन्दा बढी देखिएको घटना मधेस प्रदेशसभामा मुख्यमन्त्री जितेन्द्र सोनारले विश्वासको मत लिने दिनको थियो । सदनमा बोल्ने क्रममा अन्सारीले आफ्नै अनुहारमा कालो मोसो दल्दै सांसदहरूले मधेसको विकासमा केही नगरेको र केवल सरकार बनाउने–गिराउने खेलमा मात्र सक्रिय रहेको आरोप लगाए । उनको नाटकीय ‘स्टन्ट’ का कारण सोनारले विश्वासको मत नपाएर राजीनामा दिन बाध्य भएपछि मधेस प्रदेशमा लामो समयसम्म राजनीतिक अस्थिरता निम्त्यायो ।
अन्सारी स्टन्टबाजी र विवादित छविका लागि लामो समयदेखि चर्चित छन् । यसअघि सिमेन्ट माफियाविरुद्ध वीरगञ्जमा सिमेन्टको बोरा लगाएर र्याली निकालेका उनी केही दिनमै अभियान सेलाएपछि माफियाहरूसँग सम्झौता गरेको आरोप लागेको थियो । त्यसअघि, सरकारविरुद्ध घण्टाघर चोकमा कपडा खोलेर विरोध गरेका थिए । यी घटनाहरूले उनी लोकप्रियता कायम राख्न स्टन्ट गर्ने नेता भएको छवि बनाएको छ ।
पहिलो स्थानीय तह निर्वाचन २०७४ मा वीरगञ्ज महानगरपालिकाको मेयर उम्मेदवारी घोषणा गर्दा भाइरल भिडियो बनाएर चर्चामा आएका अन्सारी चौथो स्थानमा सीमित भए । त्यसपछि प्रतिनिधिसभा निर्वाचनमा पनि पराजित भए । दोस्रो निर्वाचनमा मात्र प्रदेशसभा सदस्य बन्न सफल भए ।
नेकपा (माओवादी केन्द्र) ले अन्सारीमाथि पार्टी ह्विप विपरीत काम गरेको आरोप लगाउँदै कारबाहीको तयारी गरेको छ । संसदीय दल नेता भरत प्रसाद साहले पार्टी एकीकरणका प्राविधिक कारणले ढिलाइ भएको तर चाँडै कारबाही हुने बताएका छन् । कारबाही भए प्रदेशसभा सदस्यता स्वतः निलम्बन हुने भएकाले अन्सारीले त्यसअघि नै नयाँ विकल्प खोजिरहेका छन् ।
स्रोतका अनुसार अन्सारी बालेनको बढ्दो लोकप्रियताको लाभ उठाउँदै आगामी प्रतिनिधिसभा निर्वाचनमा पर्सा–१ बाट उम्मेदवारी दिने योजनामा छन् । बालेनको समर्थनमा स्वतन्त्र वा वैकल्पिक मोर्चाबाट उम्मेदवारी घोषणा गर्ने तयारी गरेको दाबी छ ।
अन्सारीको कदमले मधेस प्रदेशको राजनीतिमा नयाँ तरङ्ग ल्याउने सम्भावना रहेपनि स्टन्टबाजीको इतिहास र पार्टीबाट अलग्गिँदै गरेको अवस्थामा उनिसँगको सहकार्य कति सफल हुन्छ भन्ने हेर्न बाँकी छ । बालेन पक्षबाट भने अन्सारीसँग कुनै ठोस प्रतिक्रिया आएको छै न ।