वीरगञ्ज । आगामी फागुन २१ गतेका लागि निर्धारण गरिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै पर्सा जिल्लामा चुनावी सरगर्मी बढेको छ । प्रत्यक्ष रूपमा कुनै पनि दलले चुनाव केन्द्रित गतिविधिहरू सञ्चालन नगरे पनि पार्टीगत स्तरबाट कार्यकर्ता भेटघाट, सङ्गठन विस्तार र राजनीतिक भेटघाटलगायतका कार्यक्रमलाई सबैले तीव्रता दिएका छन् ।
यस सन्दर्भमा पर्सा जिल्लाको राजनीतिक दिशा तय गर्ने क्षेत्रको रूपमा हेरिने पर्सा–१ पनि चुनावी माहौल तातिन थालेको छ । राजनीतिक दलहरूले यस क्षेत्रलाई निकै महत्त्व साथ लिने भएको कारण पनि सबैको ध्यान यसतर्फ केन्द्रित हुन्छ ।
वीरगञ्ज महानगरपालिकाको १९ वटा वडा पर्ने पर्सा – १ मा प्रत्येक पटक झैँ यस पटक पनि कडा चुनावी प्रतिस्पर्धा हुने आङ्कलन गरिएको छ । केही राजनीतिक दल बाहेकले आधिकारिक रूपमा उम्मेदवार घोषणा नगरे पनि राजनीतिक वृत्तमा विभिन्न दलका चर्चित अनुहारहरू चुनावी प्रतिस्पर्धामा आउने अड्कलबाजी भइरहेको छ । जेन-जी आन्दोलनको पृष्ठभूमिमा नयाँ अनुहारहरू आउने सक्ने आशङ्काबिच पर्सा – १ मा पुरानो अनुहार नै दोहोरिने सम्भावना प्रबल रहेको छ ।
पर्सा – १ बाट पूर्व मन्त्री प्रदीप यादव, नेपाली काँग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटा, नेकपा (एमाले) का केन्द्रीय सदस्य प्रभु हजरा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का जिल्ला सभापति हरि पन्त लगायतको नामको चर्चा छ ।
यस क्षेत्रबाट पछिल्लो दुई कार्यकालदेखि मधेस केन्द्रित दलबाट राजनीतिक गरिरहेका पूर्व मन्त्री प्रदीप यादव निर्वाचित हुँदै आएका छन् । यस पटक पनि उनको पार्टी जनता समाजवादी पार्टी (जसपा) को क्षेत्रीय भेलाले उम्मेदवारका रूपमा उनको एकल नाम सिफारिस गरेको छ ।
दोस्रो संविधानसभा निर्वाचनमार्फत पहिलो पटक चुनाव लडेका यादव नेकपा (एमाले) का विचारी यादवसँग पराजित भएका थिए । त्यस पश्चात् विक्रम संवत् २०७४ मा भएको पहिलो प्रतिनिधिसभा निर्वाचनमा उनी नेपाली काँग्रेसका अनिल रुंगटालाई पराजित गर्दै निर्वाचित भए ।
पहिलो कार्यकालमा केही समयका लागि वन तथा वातावरण मन्त्री बनेका यादव दोस्रो विक्रम संवत् २०७९ मा भएको दोस्रो प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसबाट टिकट नपाएपछि बाघी बनेर लडेका अजय द्विवेदीलाई पराजित गर्दै पुनः निर्वाचित भए । दोस्रो कार्यकालका लागि सांसद बने यादवले फेरी छोटो समयका लागि स्वास्थ्य मन्त्री र खानेपानी मन्त्री बन्ने अवसर पाए ।
राप्रपाबाट राजनीति सुरु गरेका यादव मधेस आन्दोलनको सुरुवातदेखि नै मधेस केन्द्रित दलसँग आबद्ध छन् । लामो समयसम्म उपेन्द्र यादवको नेतृत्वमा रहेका विभिन्न मधेस केन्द्रित दलमै रहेका यादवले उपेन्द्र यादवको जसपा नेपाललाई फुटाएर अशोक राई नेतृत्वमा जसपा गठन गरेका छन् । दुई कार्यकालका लागि सांसद रहिसकेका यादव पुनः तेस्रो कार्यकाललाई लागि दोहोरिने दाउमा छन् । ग्रामीण क्षेत्रका वडाहरूमा राम्रो पकड भएका यादव पर्सा – १ बाट मुख्य प्रतिस्पर्धी छन् ।
त्यस्तै यस क्षेत्रबाट संविधानसभा सदस्य तथा नेपाली काँग्रेसका केन्द्रीय सदस्य अनिल रुंगटा अर्को मुख्य दाबेदार छन् । व्यावसायिक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेका रुंगटाको नाम पनि काँग्रेसको क्षेत्रीय समितिले एकल नाम सिफारिस गरेको छ । यससँगै काँग्रेसबाट पर्सा – १ बाट उनी उम्मेदवार बन्ने पक्का भएको छ । दोस्रो संविधानसभामा समानुपातिकबाट सभासद् बनेका रुंगटा पहिलो प्रतिनिधिसभा निर्वाचनमा यसै क्षेत्रबाट प्रदीप यादवसँग पराजित भएका थिए । काँग्रेसमा सभापति देउवा निकट मानिने रुंगटा उनकै आशीर्वादमा केन्द्रीय सदस्य समेत बनेका हुन् ।
दोस्रो प्रतिनिधिसभा निर्वाचनमा काँग्रेसले गठबन्धन गरेपछि पर्सा – १ लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को कोटामा परेपछि रुंगटा समानुपातिक उम्मेदवारका रूपमा सिफारिस भएका थिए । यद्यपि, काँग्रेसले अपेक्षित मत ल्याउन नसकेपछि पार्टी सभापति देउवाले श्रीमती आरजु राणा देउवालाई सांसद बनाउन रुंगटाको फेरी सांसद बन्ने चाहनामाथि अङ्कुश लगाइदिए ।
काँग्रेसको संस्थापन पक्षका लागि सबैभन्दा भरोसेमन्द विश्वास पात्र मानिने रुंगटा पार्टीको जिल्लामा हुने प्रत्येक कार्यक्रममा सबैभन्दा बढी चन्दा दिने र पार्टीलाई आर्थिक रूपमा सहयोग गर्ने नेताका रूपमा चिनिने गरेका छन् । रुंगटाको नाम सिफारिस भएपछि तयारी स्वरूप उनले राजनीतिक भेटघाटलाई पनि तीव्रता दिएका छन् । यस क्षेत्रमा प्रदीप यादवको सबैभन्दा ठूलो प्रतिस्पर्धीका रूपमा हेरिएको छ । एक निर्वाचनमा उही यादवसँग पराजय भोगेका रुंगटा यस पटक उनलाई हराएर बदला लिने दाउमा छन् ।
त्यस्तै मूलधारको अर्को राजनीतिक दल नेकपा (एमाले) बाट निवर्तमान प्रतिनिधिसभा सदस्य प्रभु हजराको नाम चर्चामा छ । यसअघिको प्रतिनिधिसभामा समानुपातिक कोटाबाट सांसद बनेका हजरा फागुन २१ गते हुने निर्वाचनमा प्रत्यक्ष तर्फ लड्ने तयारी गरिरहेका छन् ।
पार्टीले आधिकारिक रूपमा निर्वाचनमा भाग लिने घोषणा नगरे पनि हजराको पारिवारिक स्रोतका अनुसार एमालेले पर्सा – १ बाट उनलाई अघि सार्ने लगभग पक्का भएको छ । पर्सामा पार्टी अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिने हजरा भर्खरै सम्पन्न एमालेको ११ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।
लामो समयसम्म पार्टीको जिल्ला अध्यक्ष समेत रहेका उनी पार्टीको जिल्ला इन्चार्ज पनि हुन् । दलित समुदायका अगुवाका रूपमा आफूलाई स्थापित गरेका हजराको यो पहिलो चुनावी भिडन्त हुनेछ । यसअघि उनले कुनै पनि निर्वाचनमा भाग लिएको इतिहास छैन । पार्टी नेतृत्वलाई खुसी पार्दै राजनीतिमा अगाडि बढेका हजरालाई ओलीको भने पूर्ण समर्थन छ । महाधिवेशनमा पूर्व मन्त्री राजकुमार गुप्तालाई आफ्नो प्यानलमा समावेश नगरेर हजरालाई अवसर दिएर ओलीले यसलाई पनि प्रमाणित पनि गरिदिएका छन् ।
यद्यपि, हजरालाई जिल्लावासीले उनलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेर्ने गरेका छैनन् । सांसद रहँदा पनि जिल्लावासीको समस्या समाधानका लागि खासै काम नगरी पार्टीको इसारामा मात्रै काम गरेका उनलाई क्षेत्रवासीले मतदान गर्नेमा संशय नै छ । तर, एमालेको तर्फबाट हजरा बाहेक अन्य कसैको नाम चर्चामा छैन ।
मूलधारको राजनीति पश्चात् नयाँ उदीयमान पार्टीमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पनि यस पटक पर्साबाट आफ्नो उम्मेदवार उतार्ने तयारी गरेको छ । उम्मेदवारका रूपमा जिल्ला सभापति हरि पन्तको नाम अगाडि सारिएको छ । कला र होटेल तथा पर्यटन व्यवसाय क्षेत्र हुँदै रास्वपाको उदयसँगै राजनीतिमा होमिएका पन्त पर्सा – १ का वासीका लागि नयाँ अनुहारका रूपमा आउने छन् ।
यद्यपि, उनी व्यक्तिगत भन्दा पनि पार्टी सभापति रवि लामिछानेको लोकप्रियताको आडमा निर्वाचन लड्ने छन् । क्षेत्रको सहरी क्षेत्रमा चर्चित रहे पनि ग्रामीण वडाहरूमा पन्तलाई व्यक्तिगत रूपमा चिन्ने थोरै मात्र होलान् । लामिछानेको लोकप्रियताको आधारमा उनको अनुहार प्रयोग गर्दै पन्त चुनावी अभियानमा होमिएर उनी अहिले मतदातालाई आकर्षित गर्न निकै मिहिनेत गर्दै छन ।
पन्तले राजनीतिक सक्रियता भने बढाएका छन् । क्षेत्रमा वडा समितिहरू गठनदेखि सङ्गठन विस्तारमा व्यस्त रहेका उनले आफूलाई मुख्य प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरिरहेका छन् । तर, प्रदीप यादव र अनिल रुंगटा जस्ता अनुहार अगाडि उनको पनि निकै चर्चा छ ।
यद्यपि सम्बन्धित दलहरूले औपचारिक रूपमा उम्मेदवार घोषणा गरिसकेका छैनन् । टिकट वितरणको अन्तिम निर्णयसँगै चुनावी माहौल थप तातेको देखिने स्थानीय जानकारहरूको भनाइ छ ।