×

अमेरिका र भेनेजुएलाबीचको तनाव थप बढ्दै गएको छ। अमेरिकी तटरक्षक बलले भेनेजुएला नजिकैको अन्तर्राष्ट्रिय जलक्षेत्रमा एउटा शंकास्पद तेल ट्यांकरलाई नियन्त्रणमा लिन पिछा गरिरहेको छ। 

अमेरिकाले यसै महिना मात्र भेनेजुएलासँग सम्बन्धित दुईवटा तेल ट्यांकर कब्जामा लिइसकेको छ। पछिल्लो पटक पिछा गरिएको जहाजले प्रतिबन्ध छल्न नक्कली झण्डा प्रयोग गरेको र अवैध रूपमा तेल ओसारपसार गरिरहेको अमेरिकी अधिकारीहरूको दाबी छ। 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता भेनेजुएलाको तेल निर्यातमाथि ब्लकेड अर्थात् नाकाबन्दी गर्ने आदेश दिएका थिए। 

वासिङ्टनले भेनेजुएलाको तेलबाट प्राप्त हुने रकम लागुऔषध तस्करी र आपराधिक गतिविधिमा प्रयोग भइरहेको आरोप लगाएको छ। यता भेनेजुएला सरकारले भने अमेरिकी कदमलाई चोरी र अपहरणको संज्ञा दिएको छ। 

भेनेजुएलाका विदेश मन्त्रीले अमेरिकाले आफ्नो देशको प्राकृतिक स्रोत लुट्न खोजेको र सत्ता परिवर्तन गर्न सैन्य बल प्रयोग गरिरहेको आरोप लगाएका छन्।  शनिबार मात्रै पानामाको झण्डा बोकेको एक जहाजलाई अमेरिकी विशेष टोलीले कब्जामा लिएको थियो। यसको जवाफमा भेनेजुएलाले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा उजुरी दिने चेतावनी दिएको छ। 

क्यारिबियन सागरमा अमेरिकी सैन्य उपस्थिति बढेसँगै पछिल्ला हप्ताहरूमा भएका सैन्य कारबाहीमा परी करिब एक सय जनाको मृत्यु भइसकेको छ।

 

Back to top