×

जुरिच । युरोपेली युनियन (ईयू) का नेताहरूले युक्रेनलाई ९० अर्ब युरो ऋण उपलब्ध गराउने सम्झौता गरेका छन् । रुसको रोक्का गरिएको सम्पत्ति प्रयोग गर्ने विषयमा सहमति नजुटेपछि ईयूले आफ्नै बजेटबाट ऋण दिने निर्णय गरेको हो।

ब्रसेल्समा भएको शिखर सम्मेलनमा एक दिनभन्दा लामो छलफलपछि यो सहमति भएको हो। नेताहरूले यो रकमले आगामी दुई वर्षका लागि युक्रेनको सैन्य र आर्थिक आवश्यकता पूरा गर्ने बताएका छन् । ईयू प्रमुख एन्टोनियो कोस्टाले सामाजिक सञ्जाल एक्समा लेख्दै आफूहरूले गरेको प्रतिबद्धता पूरा गरेको उल्लेख गरे। यो ऋण ईयूको साझा बजेटको ग्यारेन्टीमा उपलब्ध गराइनेछ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले युरोपमा रोक्का गरिएको करिब २०० अर्ब युरो बराबरको रुसी सम्पत्ति प्रयोग गर्न ईयू नेताहरूलाई आग्रह गरेका थिए। तर, उक्त रकमको ठूलो हिस्सा बेल्जियममा छ।

बेल्जियमले दायित्व बाँडफाँडको ग्यारेन्टी माग गरेपछि अन्य देशहरू त्यसमा सहमत हुन सकेनन्। बेल्जियमका प्रधानमन्त्री बार्ट डे वेभरले रोक्का सम्पत्ति प्रयोग गर्नुको साटो ऋण लिने निर्णयले युरोपभित्रको अराजकता र विभाजन टरेको प्रतिक्रिया दिए। उनले ईयू एकताबद्ध रहेको दाबी गरे।

युक्रेन अहिले गम्भीर आर्थिक संकटको नजिक छ। राष्ट्रपति जेलेन्स्कीले वसन्त ऋतुसम्म आर्थिक सहयोग नपाए युक्रेनले ड्रोन उत्पादन नै घटाउनुपर्ने अवस्था आउने चेतावनी दिएका थिए। ईयूको अनुमान अनुसार युक्रेनलाई आगामी दुई वर्षसम्म टिकिराख्न थप १३५ अर्ब युरो आवश्यक पर्छ र अप्रिल महिनादेखि त्यहाँ नगद अभाव सुरु हुने देखिन्छ।

जर्मन चान्सलर फ्रेडरिक मर्जनले ऋण दिने यो निर्णयले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई स्पष्ट सन्देश दिएको बताए । यसअघि रुसले आफ्नो पैसा प्रयोग नगर्न ईयू नेताहरूलाई चेतावनी दिएको थियो, तर पोल्याण्डका प्रधानमन्त्री डोनाल्ड टस्कले आफूहरूले परिस्थितिको सामना गर्नुपर्ने बताएका थिए।

यसैबिच, फ्रान्सेली राष्ट्रपति इम्मानुएल म्याक्रोँले युरोपले रुसी राष्ट्रपति पुटिनसँग पुनः संवाद गर्नु उपयोगी हुने बताएका छन्। उनले आगामी हप्ताहरूमा युरोपेली र युक्रेनी हितका लागि छलफलको माध्यम खोज्नुपर्नेमा जोड दिए।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस–युक्रेन युद्ध अन्त्यका लागि छिटो सम्झौता गर्न दबाब दिइरहेका बेला यो सम्झौता भएको हो। ह्वाइट हाउसका एक अधिकारीका अनुसार शान्ति योजनामा थप छलफल गर्न अमेरिकी र रुसी अधिकारीहरूबीच मियामीमा बैठक हुँदैछ। 

क्रेमलिनका दूत किरिल दिमित्रिभले ट्रम्पका दूतहरूसँग कुराकानी गर्ने बताइएको छ। जेलेन्स्कीले पनि युक्रेनी र अमेरिकी प्रतिनिधिमण्डलबिच शुक्रबार र शनिबार अमेरिकामा नयाँ चरणको वार्ता हुने जानकारी दिएका छन्। उनले अर्को आक्रमणबाट बच्न अमेरिकाले दिन सक्ने सुरक्षा ग्यारेन्टीबारे स्पष्टता खोजेका छन्।

Back to top