×

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप पाँच देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेका छन्।  यात्रा प्रतिबन्धको दायरा विस्तार गर्दै ट्रम्पले थप पाँच मुलुकका नागरिकहरूलाई यात्रा प्रतिबन्ध लगाएको ह्वाइट हाउसले जानकारी दिएको हो।

अलजजीराका अनुसार थपिएका पाँच देशहरूमा बुर्किना फासो, माली, नाइजर, दक्षिण सुडान र सिरिया छन्।अमेरिकामा प्रवेश मापदण्ड थप कडा बनाउने निरन्तर प्रयासअन्तर्गत गरिएको यो कदम थ्यांक्स गिभिङ सप्ताहन्तमा नेशनल गार्डका दुई सैनिकमाथि भएको गोलीकाण्डमा एक अफगान नागरिक पक्राउ परेपछि आएको हो।

प्रशासनले सुरक्षा जोखिमको कारण देखाउँदै आव्रजन तथा यात्रासम्बन्धी नियमहरू थप कडाइ गरिरहेको जनाएको छ।  साथै प्यालेस्टिनी प्राधिकरणद्वारा जारी यात्रा कागजात भएका व्यक्तिहरूमाथि पनि पूर्ण रूपमा यात्रा रोक लगाइएको छ।

यसअघि जुन महिनामा ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका भ्रमणमा प्रतिबन्ध लगाउने र थप सात देशका नागरिकमाथि आंशिक प्रतिबन्ध लागू गर्ने घोषणा गरेका थिए। 

Back to top