×

वीरगञ्ज । वेल्डिङ रडमा प्रत्येक ५ केजी प्याकेटमा ४०–६० ग्राम तौल कम राखेर उपभोक्तालाई ठग्दै आएको केके इम्पेक्स प्रालिमाथि अर्को गम्भीर आरोप थपिएको छ । 

सोही कम्पनीले आयात तथा वितरण गर्दै आएको ‘नेपटुल्स’ ब्राण्डको ड्राईवाल स्क्रू (जिप्सम बोर्ड तथा प्लास्टर बोर्ड फिक्सिङ स्क्रू) मा पनि व्यापक तौल ठगी भइरहेको पाइएको छ ।

उपभोक्ताहरूका अनुसार, बजारमा बिक्री भइरहेको ‘नेपटुल्स’ ब्राण्डको एक किलोग्राम लेखिएको ड्राईवाल स्क्रूको प्लास्टिक डब्बामा वास्तविक तौल ९०० देखि ९२० ग्राम मात्रै भेटिएको छ । अर्थात् प्रत्येक डब्बामा ८० देखि १०० ग्रामसम्म स्क्रू कम राखिएको छ । प्याकेटसहित तौल गर्दा एक किलोग्राम देखाए पनि डब्बा खोलेर स्क्रू मात्रै तौलँदा ठगी प्रस्ट देखिएको उपभोक्ताहरूले बताएका छन् ।

तौल ठगीसँगै उत्पादनको डब्बामा पनि कुनै आधारभूत जानकारी उल्लेख गरिएको छैन । अधिकतम खुद्रा मूल्य (एमआरपी), उत्पादन मिति, आयात मिति, उत्पादक कम्पनीको नाम–ठेगाना, चीनको कुन कारखानामा बनेको हो भन्ने विवरण पूरै हराइदिएको छ । आयातकर्ताको नामबाहेक ठेगाना, फोन नम्बर वा इमेलसमेत राखिएको छैन । फलस्वरूप खुद्रा पसलहरूले मनलागी मूल्य राखेर बिक्री गरिरहेका छन् ।

हाल बजारमा एक किलोग्रामको डब्बा २३० देखि २५० रुपैयाँसम्ममा बिक्री भइरहेको छ । यद्यपि, यसको वास्तविक मूल्य भने थाह छैन । मूल्य पनि के आधारमा निर्धारण गरिएको भन्ने पसलेहरूलाई समेत जानकारी छैन । “हामीले २०५ देखि २१० रुपैयाँ प्रतिकेजीमा खरिद गरेर २३० रुपैयाँसम्ममा बेच्ने गरेका छौँ,” नाम नबताउने सर्तमा एक पसलेले भने ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ६ (३) अनुसार आयातित सामानको प्याकेटमा नेपाली वा अङ्ग्रेजीमा तौल, मूल्य, उत्पादन/आयात मिति, उत्पादक तथा आयातकर्ताको पूरा विवरण अनिवार्य उल्लेख गर्नुपर्छ । तर केके इम्पेक्स प्रालिले यस्ता सबै प्रावधानको ठाडै उल्लङ्घन गर्दै आएको देखिन्छ ।

केके इम्पेक्स प्रालि वीरगञ्जका चर्चित हार्डवेयर व्यवसायी सञ्जय चौधरीको स्वामित्वमा रहेको स्थानीय व्यवसायीहरूले बताएका छन् । नेपवेल्ड वेल्डिङ रडको ठगीको समाचार सार्वजनिक भएयता पनि सम्बन्धित निकाय मौन बस्नु र कुनै कारबाही नहुनुले चौधरीको प्रशासनिक तहसम्म राम्रो ‘सेटिङ’ रहेको आशङ्का व्यवसायीहरूले गरेका छन् ।

गुणस्तर तथा नापतौल कार्यालय पर्साका प्रमुख कमल प्रसाद ओझाले यस्ता घटना गम्भीर भएको बताउँदै भने, “तौल कम भएको वा अनिवार्य विवरण नभएका सामान बिक्री गर्नै पाइँदैन । उपभोक्ताले उजुरी लिएर आएमा तुरुन्तै जाँच गरेर आयातकर्ता र विक्रेतामाथि गुणस्तर तथा नापतौल ऐन र उपभोक्ता संरक्षण ऐनअन्तर्गत कडा कारबाही गर्छौँ ।”

वीरगञ्ज तथा आसपासका निर्माण व्यवसायी, ठेकेदार र हार्डवेयर पसल सञ्चालकहरूले दुवै उत्पादन (नेपवेल्ड र नेपटुल्स) को स्टक तत्काल जफत गरी केके इम्पेक्समाथि मुद्दा चलाउन वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, नापतौल कार्यालय र जिल्ला प्रशासन कार्यालयसँग जोडदार माग गरेका छन् ।

उपभोक्ताहरूले दुवै ब्रान्डका सामान किन्दा अनिवार्य रूपमा तौल जाँच गर्न र शङ्का लागेमा तुरुन्तै नापतौल कार्यालयमा उजुरी दिन आग्रह गरेका छन् ।

Back to top