×

वीरगञ्ज । नेपाली नागरिकताको दुरुपयोग गरी नेपालमा उद्योग–धन्दा खोल्ने नाममा सर्वसाधारणको निक्षेप लुट्ने प्रयासमा संलग्न एक भारतीय महिलाले सरकारी निकायहरूको निगरानी कमजोर पार्दै उन्मुक्ति पाएको खुलासा भएको छ ।

रक्सौलका प्रतिष्ठित व्यवसायी रिपुसुदन प्रसादसँग करिब २५ वर्षअघि बलराम कलवारकी माइली छोरी प्रीति कुमारीको विवाह भएको थियो । विवाहपछि उनी प्रीति देवी सुदन नामले चिनिन थालिन् । भारतीय निर्वाचन आयोगको मतदाता सूचीमा नाम रहेकी प्रीति देवीले अहिले नेपालमा विवादास्पद व्यापारी पवनकुमार साह उर्फ त्रिभुवनका छोरा शिवम साहसँग मिलेर उद्योग स्थापना गरेको तथ्य खुलेको हो ।

बाराको नितनपुरमा दुवैले “शिवम आयल रिफाइनर्स प्रा.लि.” नामक उद्योग खोलेका छन् । उक्त उद्योगमा अधिकृत पुँजी २५ करोड र चालु पुँजी ११ करोड देखाइएको छ ।

प्रीति कुमारीले उद्योग सञ्चालनको नाममा अत्यन्तै कम मूल्यका सम्पत्ति धितो राखी बैंकबाट २७ करोड रुपैयाँ ऋण स्वीकृत गराएकी छिन् ।

उनले काठमाडौँ महानगरपालिका–२४ स्थित ४५.७१ वर्गमिटर क्षेत्रफलको घर र वीरगञ्ज महानगरपालिका–६ मा रहेको एक कठ्ठा जग्गासहितको घर धितो राखेर ग्लोबल आईएमई बैंक, कमलादी शाखाबाट उक्त ऋण लिएकी थिइन् । तर, प्रीतिकी आमा शान्तिदेवी कलवारको नाममा रहेका दुवै घरको बजार मूल्य करिब पाँच करोड रुपैयाँ मात्र रहेको खुलेको छ । अंश मुद्दामा प्रीति र उनका काका–छोराबिच विवाद भएपछि यो घोटाला सार्वजनिक भएको हो ।

जिल्ला प्रशासन कार्यालय पर्साले प्रीतिको नागरिकता प्रमाणीकरणका लागि असोज २७ गते पत्र सङ्ख्या २०८२/०८३ चलानी, स्था.प्र.१३६ मार्फत जिल्ला प्रहरी कार्यालय पर्सालाई उनलाई उपस्थित गराउन निर्देशन दिएको थियो । त्यसपछि प्रहरीको उजुरी छानबिन शाखाले वडा प्रहरी कार्यालय बिर्तालाई पत्र लेखी प्रीति कुमारीलाई सक्कल नागरिकता सहित प्रशासन कार्यालयमा उपस्थित गराउन भनेको थियो ।

तर, सो क्रममा प्रीतिको परिवार सार्वजनिक समारोहमा सहभागी हुन थालेपछि प्रशासनिक कारबाहीको प्रश्न उठेको छ ।
गत कात्तिक १७ गते, वीरगञ्ज–१४ स्थित होटेल क्लार्क रिसोर्टमा रिपुसुदनका भतिज रिशुसुदनको टीका–टालो समारोहमा रिपुसुदन र उनकी श्रीमती प्रीति सुदन आफैँ स्वागत–सत्कारमा व्यस्त देखिएका थिए ।

स्रोतका अनुसार भोज समारोहमा पवनकुमार साह उर्फ त्रिभुवन समेत उपस्थित थिए । त्रिभुवनलाई जसलाई नेपाल प्रहरीले भेप तस्करी, अवैध केराउ र पोस्ता दाना आयात काण्डमा खोजी गरिरहेको छ ।
राज्यको शून्य सहनशीलता नीतिको बिचमा फरार व्यापारीहरू खुलेआम सार्वजनिक कार्यक्रममा सहभागी हुँदा कानुनको कार्यान्वयनमाथि गम्भीर प्रश्न उठेको छ ।

व्यापारी वृत्तका अनुसार रिपुसुदनले इन्डियन ओभरसिज बैंकबाट ७० करोड रुपैयाँ ऋण लिएर लसुन र मकैको धन्दा सञ्चालन गर्दै आएका छन् । उनी तेस्रो मुलुकबाट नेपाल मार्ग हुँदै भारतमा वस्तु तस्करीमा संलग्न रहेको आरोप पनि लागेको छ ।

वीरगञ्जका एक व्यापारीका अनुसार, “रिपुसुदनले भारत हरसिधी घर भई वीरगञ्जमा व्यवसाय गर्ने मुकेश अग्रवालको करोडौँ रुपैयाँ नतिरी दिएको छ । साथै, ससुराली सम्पत्तिमाथि पनि उनको लोभ देखिएको छ ।”

यस काण्डपछि प्रशासन र नियामक निकायहरूको भूमिकाप्रति प्रश्न उठ्दै गएको छ । नेपालमा विदेशी नागरिकले नक्कली कागजातका आधारमा उद्योग खोलेर बैंक ऋण लिने प्रवृत्ति नियन्त्रणमा तत्काल पहल आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ ।

Back to top