वीरगञ्ज । पटेर्वा सुगौली गाउँपालिकाका पूर्व अध्यक्ष हरिनारायण चौधरीले आफूले वीरगञ्जका क्यासिनोमा जुवा खेलेर रकम हारेको भन्ने समाचारको खण्डन गरेका छन्।
यात्रा डेली डटकममा ४ कात्तिक २०८२ मा प्रकाशित ‘वीरगञ्जमा क्यासिनोको जाल, जुवाको लत भयावह रूप लिन थाल्यो, चौधरीले ६ करोड हारे’ शीर्षकको समाचारप्रति प्रतिक्रिया जनाउँदै चौधरीका आफन्त सत्येन्द्र शाहले उक्त समाचारमा उल्लेखित तथ्यहरू पूर्ण रूपमा गलत र निराधार भएको बताएका छन्।
शाहका अनुसार चौधरी “एक–दुई पटक मात्र साथीभाइहरूसँग घुम्न क्यासिनो पुगेका थिए, तर उनले त्यहाँ कुनै पनि प्रकारको जुवा खेलेका छैनन्।” उनले थपे, “छ करोड रुपैयाँ हारेको भन्ने कुरा पूर्ण रूपमा असत्य हो।”
उनका अनुसार शेढवास्थित जग्गा चौधरीले आफ्नै कमाइबाट खरिद गरेका हुन्। “हाल उक्त जग्गा व्यक्तिगत प्रयोजनका लागि बेच्ने सोचमा छन्, त्यसलाई क्यासिनो वा ऋणसँग जोड्नु गलत हो,” शाहले भने।
उनले यस्ता आधारहीन र अफवाहपूर्ण समाचारहरूले चौधरीको व्यक्तिगत इज्जत र सामाजिक प्रतिष्ठामाथि आघात पुर्याएको भन्दै आपत्ति जनाएका छन्।