×

नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी- २०आई सिरिजअन्तर्गत पहिलो खेल शनिबार हुँदैछ। यूएईको शारजाह क्रिकेट मैदानमा हुने खेल नेपाली समय अनुसार बेलुकी सवा ८ बज शुरु हुनेछ। 

नेपालले वेस्ट इन्डिजसँग टी-२० अन्तर्राष्ट्रिय फरम्याटमा पहिलोपटक खेल्न लागेको हो । त्यस्तै आईसीसीको पूर्ण सदस्य राष्ट्रसँग नेपालको द्विपक्षीय सिरिज हुन लागेको पनि यो पहिलो पटक हो । खेलअघि शुक्रबार आयोजित पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहित पौडेलले पछिल्लो समय नेपालको खेल राम्रो हुँदै आएको बताउँदै यस शृंखलामा पनि राम्रो प्रदर्शन गरेर जित निकाल्ने बताए। 

त्यस्तै वेस्ट इन्डिजका कप्तान अकिल होसेनले पनि नेपालको ऐतिहासिक शृंखलाको हिस्सा हुन पाउँदा खुसी लागेको बताउँदै खेलका लागि उत्साहित रहेको बताए। होसेनले टिममा युवा खेलाडी धेरै भएको र सबैजना खेलका लागि तयार रहेको बताए। 

वेस्ट इन्डिज पछिल्लो समय खराब लयमा रहेको हुँदा नेपाललाई ऐतिहासिक जित निकाल्ने अवसर पनि छ। वेस्ट इन्डिजले सन् २०२५ मा खेलेका १२ खेलमध्ये २ खेल मात्र जितेको छ।

Back to top