वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२० का वडाध्यक्ष राम किशोर सिंह परागले विगत आठ वर्षदेखि अलपत्र रहेको सडक निर्माण कार्य तत्काल सम्पन्न गर्न माग गरेका छन् । वीरगञ्जको हरपतगञ्ज, अपौनी, उदयपुर घुर्मी, सौराहा लगायतका टोल जोड्ने करिब ८ किलोमिटर लामो सडक निर्माण अधुरो रहँदा स्थानीयवासीले सास्ती बेहोरिरहेका छन् ।
वडाध्यक्ष परागले पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी मार्फत सहरी विकास मन्त्री कुलमान घिसिङलाई ज्ञापन पत्र बुझाउँदै सडकमा तत्काल ग्रेभल बिछ्याएर सञ्चालनयोग्य बनाउन आग्रह गरेका छन् ।
ठेक्का नम्बर डीयुडीबीसी/पर्सा२०७४-०७५/एनसीबी- ०८ अन्तर्गत ठेकेदार कम्पनी स्वच्छन्द/पप्पु/युनाइटेड जेभीले सडक र नालाका लागि गहिरो खाल्डो खनेर काम छोडेपछि पानी जम्ने, दुर्गन्ध फैलिने र हैजा, मलेरिया, डेंगीजस्ता रोगको जोखिम बढेको वडाध्यक्ष परागले बताए ।
“आठ वर्षमा पटक – पटक म्याद थप गरियो, तर काम पूरा भएन । स्थानीयवासीको स्वास्थ्य र आवागमनमा गम्भीर समस्या छ,” परागले भने, “नाला र सडकको खाल्डोमा पानी जमेर लामखुट्टेको प्रकोप बढेको छ । दैनिक आवागमनमा सास्ती छ । अहिले पनि सडक निर्माणको काम सुरु नभए म धर्ना बस्छु ।”
स्थानीयवासीले पनि सडक निर्माण यथाशीघ्र सम्पन्न गर्न माग गरेका छन् । निर्माण कार्यमा ढिलाइले दसैँको पूजा समेत प्रभावित भएको र आक्रोशित स्थानीयले कार्यालय घेराउ गर्ने चेतावनी दिएका छन् ।
ज्ञापन पत्र बुझ्दै पर्साका प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले तत्कालै सघन सहरी तथा भवन निर्माण आयोजनाका प्रमुख सञ्जीव कुमार साहलाई फोन गरेर काम सुरु गर्न निर्देशन पनि दिए । यद्यपि, साहले ठेकदारहरूबिच कानुनी विवाद चलिरहेको कारण काममा ढिलाइ भएको जवाफ फर्काए । सिडिओ सुवेदीले साहलाई कुनै उपाय निकालेर भए पनि सडक निर्माणको काम सम्पन्न गर्न निर्देशन दिए । उनले सडकको स्थलगत अनुगमन गर्ने पनि बताए ।
यसअघि परागले स्थानीय अगुवाहरूसहित सघन सहरी तथा भवन निर्माण आयोजना कार्यालय वीरगञ्जका प्रमुखलाई ज्ञापन पत्र बुझाउँदै निर्माण कार्य तत्काल सुचारु गर्न माग गरेका थिए । उनले निर्माण कार्य सुरु नभए आयोजना कार्यालय अगाडि धर्ना दिने चेतावनी समेत दिएका थिए ।
यस विषयमा जानकारी लिन जाँदा आयोजना कार्यालयका प्रमुख सञ्जीव कुमार साहसँग भेटघाट भएन ।
कार्यालयका सूचना अधिकारी इन्जिनियर राजन जयसवालका अनुसार स्वच्छन्द/पप्पु/युनाइटेड जेभीसँग २०७५ जेठ ९ मा ८४ करोड ९८ लाखमा ठेक्का सम्झौता भएको थियो । सम्झौता रकम बढेर पछि बढेर ९१ करोड ४७ लाख पुगेको उनले बताए ।
हालसम्म ठेकेदारले ५४ करोड ११ लाख भुक्तानी लिए पनि ७५ प्रतिशत काम मात्र सम्पन्न भएको छ । ठेकेदारले पाँच पटक म्याद थप गरिसकेको र हालै पुनः म्याद थपको निवेदन दिएको जयसवालले बताए ।