×

फाइल तस्बिर ।

वीरगञ्ज । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले जेन-जी आन्दोलनका क्रममा भएको हिंसात्मक दमन र मानवीय क्षतिप्रति माफी माग्न अस्वीकार गरेका छन् ।

भदौ २३ गतेको आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्यु भएको र त्यसपछिका घटनामा कुल ७३ जनाले ज्यान गुमाएका घटनालाई लिएर व्यापक आलोचना भइरहँदा ओलीले आफ्नो गल्ती स्वीकार गर्नुको साटो आन्दोलनमा ‘षड्यन्त्र’ भएको दाबी गरेका छन् ।

आज असोज ३ गते संविधान दिवसको अवसरमा फेसबुकमार्फत पहिलो पटक सार्वजनिक अभिव्यक्ति दिँदै ओलीले भने, “षड्यन्त्रबारे आज धेरै बोल्दिनँ, समयले सबै कुरा प्रस्ट्याउनेछ । देश बनिरहेको थियो कि बिग्रिएको थियो, वा काल्पनिक भाष्य खडा गरेर आक्रोश फैलाइयो?”

ओलीले भदौ २३ गते जेन–जी आन्दोलनको नाममा भएको प्रदर्शनमा हिंसा भड्किएको र १९ जनाको ज्यान गएको घटनाप्रति गम्भीर चिन्ता व्यक्त गरेपनि सरकारले प्रदर्शनकारीमाथि गोली चलाउने आदेश नदिएको दाबी गरेका छन् । उनले प्रहरीसँग नभएका स्वचालित हतियार प्रयोग भएको भन्दै घटनाको गहिरो छानबिन हुनुपर्ने माग गरेर कुतर्क समेत गरेका छन् । “षड्यन्त्रकारी तत्त्वले शान्तिपूर्ण प्रदर्शनमा घुसपैठ गरी हिंसा भड्काए, जसले हाम्रा युवाहरूको ज्यान लियो,” उनले भनेका छन् ।

आफ्नो प्रधानमन्त्री पदबाट राजीनामापछि सिंहदरबार, नेपालको नक्सा, जनप्रतिनिधि संस्था, राजनीतिक दलका कार्यालय र नेताहरूको निजी सम्पत्तिमा भएको आक्रमणलाई ओलीले संविधान र सार्वभौमसत्तामाथिको सुनियोजित हमलाको रूपमा व्याख्या गरेका छन् । “काल्पनिक कथन बनाएर देश बिग्रिएको भ्रम फैलाउने र आक्रोश भड्काउने प्रयास भइरहेको छ,” उनले भनेका छन् । यस्ता गतिविधिले देशको स्वतन्त्रता र स्वाभिमान कमजोर हुने खतरा रहेको उनको चेतावनी छ ।

भदौ २३ गतेको हिंसात्मक दमनपछि तत्कालीन गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका थिए, तर ओलीले भने गल्ती स्वीकार गर्नुको सट्टा आफूलाई राष्ट्रवादी देखाउन खोजे । उनले ऐतिहासिक सन्दर्भ जोड्दै काजी भीम मल्लको मृत्युदण्डको उदाहरण दिँदै भने, “असन्तोषको विस्तारले पछुतो मात्र निम्त्याउँछ ।” 

आन्दोलनको चर्को दबाब र कर्फ्यु लगाउँदा पनि स्थिति नियन्त्रणमा नआएपछि ओलीले भदौ २४ गते प्रधानमन्त्री पदबाट राजीनामा दिएर नेपाली सेनाको हेलिकोप्टरमार्फत बालुवाटारबाट बाहिरिएका थिए । १० दिनसम्म सेनाको सुरक्षामा रहेका उनी असोज २ गते बाहिरिएर भोलिपल्ट फेसबुकमार्फत आफ्नो धारणा व्यक्त गरेका हुन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काँग्रेसका नेताहरू गगन थापा र विश्वप्रकाश शर्माले गल्ती स्वीकार गर्दै सुधारको प्रतिबद्धता जनाइरहँदा ओलीको अडानले एमालेभित्रै असन्तुष्टि निम्त्याएको छ । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कमजोरी खोजेर सुधार गर्नुपर्ने बताएका छन् भने उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले नेतृत्वमाथि गम्भीर समीक्षा आवश्यक रहेको भन्दै तत्काल बैठक बोलाउन माग गरेकी छन् । तर, ओलीले बैठक बोलाउने कुनै सङ्केत दिएका छैनन् ।

आन्दोलनका क्रममा भएको हिंसा, लुटपाट र आगजनीले देशमा ठूलो क्षति भएको छ । ओलीको दम्भपूर्ण अभिव्यक्तिले स्थिति थप जटिल बन्ने सङ्केत देखिएको छ । उनको अडानले एमालेको आन्तरिक एकता र देशको राजनीतिक माहौलमा कस्तो प्रभाव पर्छ, त्यो समयले नै बताउने छ ।

पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले फेसबुकमा लेखेका छन्:

दिदीबहिनी तथा दाजुभाइहरू !

आज संविधान दिवस। नेपाली जनताले ७० वर्षसम्म संघर्ष गरेर आफैंले निर्वाचित गरेको संविधानसभाले बनाएको संविधान जारी गरेको दिन । लोकतान्त्रिक गणतन्त्र, सङ्घीय समावेशी व्यवस्था र जनताका अधिकार स्थापित भएको दिन ।

यो संविधान निर्माण गर्दा हामीले भोगेका चुनौती तपाईँहरूको सम्झनामा ताजै छ । नाकाबन्दी र देशको सार्वभौमसत्तामाथि उत्पन्न चुनौतीलाई समेत परास्त गर्दै संविधान जारी भएको थियो । तसर्थ नेपालको संविधान नेपाली जनताले आफैले आफ्ना निम्ति लेखेको भविष्य रेखा हो ।

संविधान जारी भएपछि नेपाललाई कसैले नाकाबन्दी लगाउन नसक्नेगरी भूपरिवेष्ठित देशलाई भूजडित बनाउन उत्तर दक्षिण जोड्ने यातायात संरचनाहरु बनाइरहेका थियौं। उत्तरी छिमेकी देशसँग पनि यातायात पारवहन सम्झौता गरेका थियौं। हाम्रो सार्वभौमसत्ताको सामर्थ्य विस्तार गरेका थियौं। हाम्रा विकास संरचनाहरूका जग बसालेका थियौं । अर्थतन्त्र तंग्रदै थियो।

गत साता जेन-जीको शान्तिपूर्ण हुने भनिएको प्रदर्शनका क्रममा घुसपैठ भयो-आह्वान कर्ताले भनेझैं । त्यसमा घुसपैठ गर्ने षड्यन्त्रकारीहरूले हिंसा मच्चाए, हाम्रा युवाहरुको ज्यान गयो। सरकारले प्रदर्शनकारीलाई ताकीताकी गोली हान्ने आदेश दिएको थिएन। प्रहरीसँग नभएका स्वचालित हतियारले गोली हानेको घटनाको छानबिन हुनु पर्दछ । त्यस घटनाप्रति म फेरि दुःख व्यक्त गर्दै दिवंगत युवाहरूप्रति श्रध्दाञ्जली एवं घाइतेहरुको स्वास्थ्यलाभको कामना गर्दछु।

हामी यतिबेला हाम्रो संविधानमाथि ठूलो आक्रमण भएको अवस्थामा छौँ। प्रधानमन्त्रीबाट मेरो राजीनामापछि सिंहदरबार जलाइएको छ - नेपालको नक्सा जलाइएको छ, देशको निशानी मेटाउन खोजिएको छ। जनप्रतिनिधि संस्था, न्यायालय, व्यापारिक प्रतिष्ठान र राजनीतिक दलका कार्यालय, तिनका नेता कार्यकर्ताको घर, व्यक्तिगत सम्पत्ति छानीछानी खरानी बनाइएको छ।

यसका पछाडिको षड्यन्त्रबारे आज म धेरै कुरा भन्दिनँ, धेरै कुरा समयले आफैं बयान दिनेछ। हाम्रो देश बनिरहेको थियो कि बिग्रेको थियो, वा देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर आक्रोश विस्तार मात्रै गरिएको थियो ? यी सबै कुरा हाम्रो नयाँ पुस्ताले आफैं महसुस गर्ने छ। विदेश जाने/आउने एयरपोर्टको भीडलाई नकारात्मक भनिरहेको समाज आज देश बाहिरको अनुमति बन्द हुनुलाई के ठान्ला, यो पनि समयले महसुस गराउने छ। हाम्रो नयाँ पुस्ताले आफैं बुझ्ने छ ।

तर, यो कुरा समय छँदै बुझ्नु पर्ने छ, नबुझेमा हाम्रो देशको सार्वभौमसत्ता इतिहासमा मात्र रहने छ ।

हाम्रा युवाहरुले काजी भीम मल्लको मृत्युदण्डबारेको इतिहास पक्कै पढ्नु भएको छ। देशको सीमाना विस्तार गरेर फर्केका भीम मल्ललाई देश फर्किनासाथ काटिएपछि पछुताउने मात्र विकल्प बाँकी रह्यो। यथार्थ भन्दा बाहिर गएर विस्तार गरिएका असन्तोषका परिणामहरु पछुताउन मात्र काम लाग्छन्, त्यस पछुतोले नै बनिरहेको देशको झन् झन् गाढा सम्झना गराउने छ।

हामी सबै पुस्ताका नेपाली एकजुट हुनु पर्दछ - सार्वभौमसत्तामाथि गरिएको प्रहार सामना गर्न र हाम्रो संविधानको रक्षा गर्न। सार्वभौमसत्ता हाम्रो अस्तित्व हो भने संविधान हाम्रो स्वतन्त्रताको कवच हो। हाम्रो एकताले नै देशसामु उत्पन्न यो अकल्पनीय सङ्कटबाट फेरि देशलाई उठाउन र जोगाउन सक्छ।

मेरो सबैमा अपील छ -

संविधान जोगाऔं, सार्वभौमसत्ताको रक्षा गरौं।

Back to top