×

साङ्केतिक तस्बिर ।

नयाँ दिल्ली । भारतमा कोरोना भाइरस सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या १०४७ पुगेको छ । जसअनुसार सबैभन्दा बढी ४३० सक्रिय केस केरलामा राज्यमा रहेका छन् भने महाराष्ट्रमा २०८, दिल्लीमा १०४ र गुजरातमा ८३, कर्नाटकमा ८० र ७३ सङ्क्रमित बेंगलुरुमा रहेका छन् ।

महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा कुल ११ जना बिरामीको मृत्यु भएको छ । जसमध्ये नौ जनाको एक सातामै मृत्यु भएको हो । महाराष्ट्रमा कोरोनाका कारण सबैभन्दा बढी ५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो एक सातामा ७ सय ८७ नयाँ बिरामी दर्ता भएका छन् । इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) का निर्देशक डा. राजीव बहलले हालसम्म देशमा ४ वटा भेरियन्ट फेला परेको बताए ।

जयपुरमा सोमबार दुई जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । ती मध्ये एक रेलवे स्टेसनमा मृत फेला परेका थिए। उनको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । दोस्रो मृत्यु निजी अस्पतालमा भर्ना भएका २६ वर्षीय युवकको हो । उनी पहिलेदेखि नै क्षयरोगबाट पीडित थिए ।

Back to top