बीरगञ्ज । साप्ताहिक पत्रिकाहरूका सम्पादकहरूको अन्तर्राष्ट्रिय समाज नेपाल च्याप्टरको अध्यक्षमा दिपेन्द्र चौहान चयन भएका छन्।
बिहीबार सम्पन्न समाजको साधारणसभाले चौहानको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। नवगठित कार्यसमितिको उपाध्यक्षमा प्रदीप काफ्ले, सदस्य सचिवमा विनय देवकोटा तथा सदस्यमा तुला अधिकारी चयन भएका छन्।
त्यसैगरी, समाजका संस्थापक तथा निवर्तमान अध्यक्ष कविर राणालाई संरक्षकको जिम्मेवारी प्रदान गर्ने निर्णय पनि साधारणसभाले गरेको छ।
साधारणसभाले नवनिर्वाचित अध्यक्ष चौहानलाई आगामी जुलाई १५ देखि १९ सम्म बेलायतको वेल्समा आयोजना हुने समाजको अन्तर्राष्ट्रिय साधारणसभामा सहभागी हुने जिम्मेवारी पनि दिएको छ। उक्त कार्यक्रममा उनले नेपाल शाखाका गतिविधि, नेपाली पत्रकारिताको वर्तमान अवस्था तथा साप्ताहिक पत्रिका प्रकाशनसँग सम्बन्धित विषयहरूबारे अन्तर्राष्ट्रिय मञ्चमा जानकारी गराउने निर्णय गरिएको समाजले जनाएको छ।
समाजले नयाँ नेतृत्वको चयनसँगै नेपाल च्याप्टरको संस्थागत सुदृढीकरण, साप्ताहिक पत्रिकाहरूको व्यावसायिक विकास, पत्रकारहरूको क्षमता अभिवृद्धि तथा अन्तर्राष्ट्रिय सहकार्य विस्तारमा थप सक्रिय रूपमा काम गर्ने अपेक्षा गरिएको जनाएको छ।