×

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पतालमा फिजियोथेरापी चिकित्सकका रूपमा कार्यरत डा. ओमप्रकाश साहले आफूमाथि लागेको नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरी नियुक्ति लिएको आरोपको खण्डन गरेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली प्रमाणपत्रको आशंकामा नारायणी अस्पताललाई पत्राचार गरेपछि डा. साहले आफ्ना सम्पूर्ण शैक्षिक प्रमाणपत्रहरू सक्कली भएको दाबी गरेका छन् । उनले अख्तियारले मागेका सबै कागजात र प्रमाणपत्रहरू अस्पताल प्रशासनलाई बुझाइसकेको समेत जानकारी दिए । 

डा. साहका अनुसार, अख्तियारको पत्र अस्पताल प्रशासनले जेठ १ गते मात्र आफूलाई उपलब्ध गराएको थियो । सोही पत्रको जवाफमा उनले जेठ २ गते नोटरी पब्लिकमार्फत प्रमाणित गरिएका शैक्षिक प्रमाणपत्र र अन्य कागजातहरू अस्पताल प्रशासनलाई बुझाएको बताएका छन् । 

नेपाल फिजियोथेरापी सङ्घका सह-कोषाध्यक्षसमेत रहेका डा. साहले अख्तियारको कार्यालय पुगेको भन्ने समाचारको पनि खण्डन गरेका छन् । उनले प्रत्येक महिनाको पहिलो शनिबार हुने सङ्घको नियमित बैठकमा सहभागी हुन जेठ ३ गते काठमाडौँ गएको बताए । सोही क्रममा उनले आफ्नो स्वास्थ्य जाँचका लागि डा. अंशु माली जोशीको एस.एस. क्लिनिकमा समेत भ्रमण गरेको उल्लेख गरे ।

“जेठ ३ गते शनिबार भएकाले सरकारी कार्यालयहरू बन्द हुनभएकोले अख्तियार पुगेको भन्ने आरोप आधारहीन छ,” उनले भने । 

डा. साहले आफ्नो शैक्षिक प्रमाणपत्र सक्कली भएको दाबी गर्दै भारतको सीतामढी जिल्लास्थित दीनदयाल उपाध्याय स्मृति (डीडीएम) कलेजबाट सन् २००३ मा प्राप्त प्रमाणपत्रको नोटरी प्रमाणित प्रतिलिपि सार्वजनिक गरेका छन् । 

नारायणी अस्पताल प्रशासनले डा. साहले नोटरीमार्फत प्रमाणित कागजात बुझाएको पुष्टि गर्दै अख्तियारको मागबमोजिम कागजात पठाइसकेको जनाएको छ । 

डा. साहले आफू निर्दोष रहेको र प्रमाणपत्र पूर्ण रूपमा वैधानिक भएको जिकिर गरेका छन् । उनले केही व्यक्तिहरूले आफ्नो चरित्र हत्या र व्यावसायिक प्रतिष्ठामा आँच पुर्‍याउने उद्देश्यले यस्ता आरोप लगाएको दाबी गरेका छन् ।

Back to top