वीरगञ्ज । भारतसँगको पछिल्लो द्वन्द्वमा पाकिस्तानले ११ सैनिकसहित ५१ जनाको ज्यान गएको जानकारी दिएको छ । पाकिस्तानी सेनाका अनुसार १९९ जना घाइते भएका छन् ।
सेनाको इन्टरसर्भिसेज पब्लिक रिलेसन्स (आईएसपीआर) ले मंगलबार यस्तो जानकारी दिएको हो । पाकिस्तानी सेनामा ७८ जना घाइते भएको जनाइएको छ ।
आईएसपीआरले ‘६-७ मे २०२५ को रातमा, भारतीय सशस्त्र बलले महिला, बालबालिका र वृद्ध वृद्धासहित निर्दोष नागरिकलाई लक्षित गर्दै अकारण र निन्दनीय कायर आक्रमण गरेको’ भनेको छ ।
सेनाका अनुसार आक्रमणमा ७ महिला र १५ बालबालिकासहित ४० सर्वसाधारणको मृत्यु भएको छ । त्यस्तै १० महिला र २७ बालबालिकासहित १२१ ना घाइते भएका छन् ।
सेनाको विज्ञप्तिअनुसार ज्यान गुमाउनेमा पाकिस्तानी सैनिकका नाइक अब्दुल रहमान, लान्स नाइक दिलावर खान, लान्स नाइक इकरामुल्लाह, नाइक वकार खालिद, सिपाही मुहम्मद अदील अकबर र सिपाही निसार रहेका छन् । पाकिस्तानी वायुसेनाका स्क्वाड्रन लिडर उस्मान युसुफ, प्रमुख प्राविधिक औरंगजेब, वरिष्ठ प्राविधिक नजीब, कर्पोरल प्राविधिक फारुक र वरिष्ठ प्राविधिक मुबाशिरले पनि ज्यान गुमाएका छन् ।
सहिदको बलिदान साहस, समर्पण र देशभक्तिको प्रतीक भन्दै सार्वभौमसत्ता वा क्षेत्रीय अखण्डतामाथि कुनै पनि चुनौतीलाई तत्काल, पूर्ण र निर्णायक जवाफ दिने समेत उल्लेख गरिएको छ ।
जम्मु कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणमा एक नेपालीसहित २६ जनाले ज्यान गुमाएका थिए । त्यसपछि भारत र पाकिस्तानबिच तनाव सुरु भएको हो । गत बुधबारेदेखि चार दिन चलेको तनाव शनिवार अमेरिकाको हस्तक्षेपपछि रोकिएको छ ।