वीरगञ्ज । क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले “क्यान यूथ क्याम्प” अन्तर्गत १९ वर्ष मुनिका ३६ खेलाडी छनौट गरेको छ ।
ब्लु, रेड, र ग्रिन गरी तीन टोलीमा विभाजन गरिएको यूथ क्याम्प आगामी माघ १५ देखि २२ गतेसम्म चल्नेछ । क्याम्पमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले नेपाललाई यू–१९ विश्वकप क्वालिफायरमा प्रतिनिधित्व गर्ने मौका पाउनेछन् ।
यूथ क्याम्पमा पर्सा जिल्लाबाट अलराउण्डर चन्दन राम र ओपनर ब्याटर रूहुल हक छनौट भएका छन् । दुवै खेलाडीले मधेस प्रदेशको तर्फबाट प्रदेश स्तरीय यू–१६ प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका थिए । चन्दन “प्लेयर अफ द टुर्नामेन्ट” समेत घोषित भएका थिए भने रूहुल “बेस्ट ब्याटर” को उपाधि जित्न सफल भएका थिए ।
पर्सा क्रिकेट सङ्घका अध्यक्ष मनिष सिंहले रूहुल र चन्दनको उपलब्धि पर्सा जिल्लाको क्रिकेटका लागि गर्वको विषय भएको बताए । “चन्दन र रूहुलजस्ता खेलाडीहरूले आफ्नो मेहनत र प्रतिबद्धताले पर्सालाई मात्र होइन, नेपाललाई पनि अन्तर्राष्ट्रिय स्तरमा चिनाउने विश्वास छ,” उनले यात्रा डेलीसँग भने ।
वरिष्ठ क्रिकेट प्रशिक्षक प्रकाश शर्माले चन्दन र रूहुल जस्ता खेलाडीहरूले आफ्नो उमेर समूहमा लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका बताए । “यूथ क्याम्पमा उनीहरूको प्रदर्शन अझ प्रभावकारी हुनेछ । भविष्यमा उनीहरूले नेपाललाई ठूलो उपलब्धि दिलाउने सम्भावना छ,” उनले भने ।
चन्दन रामले क्यान यूथ क्याम्पमा छनौट हुनु आफ्नो लागि ठूलो अवसर भएको बताउँदै भने “यो मेरो सपना साकार गर्ने पहिलो कदम हो । मैले आफ्नो उत्कृष्ट प्रदर्शन गरेर नेपालको तर्फबाट खेल्ने लक्ष्य राखेको छु ।”
त्यस्तै रूहुल हकले यूथ क्याम्पमा छनौट हुने अवसरले आफूलाई उत्साहित बनाउनुका साथै जिम्मेवार पनि बोध गराएको बताए । “म आफ्नो खेल सुधार्न र देशको प्रतिनिधित्व गर्न सबै प्रयास गर्नेछु,” उनले भने ।
रूहुल हाल वीरगञ्जस्थित नेशनल इन्फोटेक कलेजमा कक्षा १२ मा अध्ययनरत छन् भने चन्दन वीरगञ्जकै ज्ञानदा एकेडेमीमा कक्षा ११ मा अध्ययनरत छन् । चन्दन ज्ञानदामै स्थापित नेशनल स्पोट्र्स एकेडेमीका प्रशिक्षार्थी पनि हुन् । उनीहरूको मेहनत र प्रदर्शनले पर्सा जिल्लाको क्रिकेटप्रति युवाहरूको रुचि बढाउने ज्ञानदा एकेडेमीका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद कोइरालाले बताए ।
यसअघि पनि नेशनल इन्फोटेकका विद्यार्थी रञ्जित कुमार क्यानको बन्द प्रशिक्षणमा छनौट हुँदै यू–१९ विश्वकपमा नेपालको तर्फबाट खेलिसकेका छन् । उनले नेपाल प्रिमियर लिगमा चितवन राइनोजको प्रतिनिधित्व गरेका थिए भने भर्खरै सम्पन्न जय ट्रफीमा मधेस प्रदेशको तर्फबाट खेलेका थिए ।
प्रशिक्षक शर्माका अनुसार, पर्सा जिल्लामा क्रिकेटको आधार बलियो बन्दै गएको छ । उनले भने, “स्थानीय प्रतिभा पहिचान गर्न र अन्तर्राष्ट्रिय स्तरमा लैजान यस प्रकारका अवसरहरू महत्त्वपूर्ण छन् । चन्दन र रूहुलजस्ता खेलाडीहरूले यो बाटो अझ फराकिलो बनाउनेछन् ।”