×

वीरगञ्ज । नेशनल इन्फोटेक कलेजद्वारा वीरगञ्जमा आयोजित चौथो संस्करणको नेशनल इन्फोटेक (एनआइ) कप – २०८१ ट्वान्टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा लिग चरणअन्तर्गत बिहीबार भएको दोस्रो खेलमा ज्ञानदा एकेडेमीले आयोजक नेशनल इन्फोटेकलाई ७ विकेटले पराजित गरेको छ ।

वीरगञ्जस्थित नारायणी क्रिकेट रङ्गशालामा आयोजित खेलमा ज्ञानदा एकेडेमीले उत्कृष्ट प्रदर्शनमार्फत नेशनल इन्फोटेकलाई हराउँदै दोस्रो जित निकालेर आफ्नो वर्चस्व स्थापित गरेको हो । 

टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेशनल इन्फोटेकको सुरुवात कमजोर रह्यो । ओपनर राहुल महतो १२ बलमा ७ रन बनाउँदै पेभिलियन फर्किए । त्यसपछि पनि टोलीले नियमित अन्तरालमा विकेट गुमाउँदै स्कोर बोर्डलाई अघि बढाउन सकेन ।

नेशनल इन्फोटेकका लागि मोहम्मद सरिफले सर्वाधिक १५ रनको योगदान दिए । अर्कोतर्फ, सन्देश गुप्ताले १४ रन बनाउँदै केही हदसम्म बलियो प्रदर्शन गर्ने प्रयास गरे पनि अन्य कुनै पनि ब्याटरहरू टिकेर लामो इनिङ्स खेल्न सकेनन् । ब्याटरहरूको खबर प्रदर्शनका कारण १९.२ ओभरमै नेशनल इन्फोटेकको इनिङ्स ८२ रनमा समेटियो ।

ज्ञानदा एकेडेमीका बलरहरूले असाधारण प्रदर्शन गरे । कान्हैया कुमारको बलिङ घातक रह्यो । उनले ४ ओभरमा १५ रन दिएर ३ विकेट हात पारे । चन्दन राम र रोबिन कुम्हालले समान २-२ विकेट लिँदै विपक्षी ब्याटिङ लाइनअपलाई तहसनहस बनाए । बलिङमा भएको उत्कृष्ट प्रदर्शन नै ज्ञानदा एकेडेमीको जितको आधार बन्यो ।

८३ रनको साधारण लक्ष्य पछ्याउन मैदानमा उत्रिएको ज्ञानदा एकेडेमीको सुरुवात केही कमजोर रह्यो । पहिलो दुई विकेट चाँडै गुमाएपछि टोली दबाबमा आएको थियो । जय सर्राफ र विवेक पराजुलीले क्रमशः ८ र ६ रन मात्र जोड्न सके । यद्यपि, त्यसपछि कार्तिक पटेल र मुन्ना यादवले स्थितिलाई सम्हाले ।

कार्तिक पटेलले २४ बलमा २२ रन बनाउँदै टोलीलाई स्थायित्व दिए । मुन्ना यादवले भने उत्कृष्ट ३१ रनको अविजित पारी खेले । उनको पारीमा ६ उत्कृष्ट चौका समावेश थिए । चन्दन रामले ११ बलमा १३ रन बनाएर टोलीलाई जितसम्म पुर्‍याए ।

नेशनल इन्फोटेकका बलरहरूले केही प्रतिरोध गर्ने प्रयास गरे । मोहम्मद सरिफ र मेराज अलीले समान १-१ विकेट लिए । तर, टोलीको कमजोर स्कोरको कारण बलरहरूको प्रयास व्यर्थ सावित भयो ।

खेलमा ज्ञानदा एकेडेमीको सन्तुलित प्रदर्शनले जित सुनिश्चित गर्‍यो । उनीहरूको बलिङ लाइनअपले विपक्षी टोलीलाई कम स्कोरमा रोक्न उत्कृष्ट काम गर्‍यो । कान्हैया कुमारको घातक बलिङ, मुन्ना यादवको जिम्मेवार पारी र चन्दन रामको सम्पूर्ण प्रदर्शन टोलीको बलियो पक्ष रह्यो । मुन्नालाई प्लेयर अफ दी म्याचबाट सम्मानित पनि गरियो ।

अर्कोतर्फ, नेशनल इन्फोटेकले ब्याटिङतर्फ आफ्नो कमजोरी प्रस्ट रूपमा देखायो । कुनै पनि ब्याटरले ठूलो साझेदारी गर्न नसक्दा टोली दबाबमा आयो । कमजोर रणनीति र विकेट जोगाउन नसक्नु उनीहरूको हारको मुख्य कारण बन्यो ।

ज्ञानदा एकेडेमीको जितले उनीहरूको क्षमता र टोलीको तालमेललाई स्पष्ट रूपमा उजागर गरेको छ । बलिङ र ब्याटिङको उत्कृष्ट समन्वय नै उनीहरूको जितको आधार रह्यो । हारसँगै नेशनल इन्फोटेकले आफ्नो रणनीति र खेलाडीहरूको प्रदर्शन सुधार्नुपर्ने आवश्यकता महसुस गरेको छ ।

प्रतियोगिताअन्तर्गत आज बिहान भएको पहिलो लिग चरणको खेलमा अल्पाइन हाई स्कुलले वीरगञ्ज कलेजलाई ९ विकेटले पराजित गरेको थियो ।

Back to top