लस एन्जलस । अमेरिकाको क्यालिफोर्नियाको लस एन्जलस क्षेत्रमा आगलागीका कारण अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ ।
मङ्गलवार तीव्र हावाका कारण फैलिएको अनियन्त्रित आगलागी निभाउने अमेरिकी सरकारले प्रयास गरिरहेको जनाएको छ । कतिपय स्थानमा हावाको गति ९७ किलोमिटर प्रतिघण्टा पुगेको हुँदा आगो तीव्र गतिमा फैलिएको छ ।
आगलागीमा परेर कैयौँ घाइते भएका समाचारहरू बाहिरिएका छन् । आगलागीबाट एक हजारभन्दा बढी घर जलेर नष्ट भएका छन् ।
हलिउड कलाकारहरूका घरहरू जलेर खरानी भएका छन् । हजारौँ मानिस सुरक्षित स्थानतर्फ भाग्न बाध्य भएका छन् । आगलागीका कारण मानिसहरू हतारमा सवारीसाधन छाडेर हिँड्दा सडक पनि जाम भएका छन् ।
लस एन्जलस काउन्टीमा बुधवार लगभग १ लाख ८८ हजार घरहरू बिजुलीविहीन भएका छन् । हावाको गति पनि बढेर १२९ किलोमिटर प्रतिघण्टा पुगेको छ ।
लस एन्जलस फायर चिफ क्रिस्टन क्राउलीले भने, ‘हामी अझै खतराबाट मुक्त छैनौँ । हजारौँ दमकल आगो नियन्त्रणमा जुटेका छन् ।’
लस एन्जलसको उत्तर पूर्वी प्रकृति संरक्षण क्षेत्र नजिक मङ्गलवार साँझ लागेको आगो द्रुत रूपमा दुई हजार एकडभन्दा बढीमा फैलिएको छ ।