×

ठोरी । “पहिले मेशिन छुँदा पनि डर लाग्थ्यो, सियोले कतै बिझाउने हो कि ? कतै केही बिग्रिने हो कि ?“ पर्साको ठोरी गाउँपालिका ३ रामनगरकी निका मगर आफ्नो अनुभव सुनाउँदै थिइन् । उनी सधैँ अरूले सिलाइदिएका कपडा लगाउँथिन्।  तर, आज निका आफैँले सिलाएको सुन्दर कुर्ता–सुरुवालमा सजिएकी थिइन् । “पहिलो पटक आफूले सिलाएको कपडा लगाउँदा आफूलाई नयाँ मान्छेझैँ लाग्यो । अब अरूको लागि पनि सिलाउन सुरु गर्छु”, उनले गर्वका साथ भनिन् ।

यस्तै कथा थियो ठोरीकै साबित्रा मानन्धरको । “सुरुमा त कैँची चलाउन पनि आउँदैनथ्यो, कपडा काट्न डर लाग्थ्यो,“ उनले भनिन् । तर अहिले, ब्लाउजदेखि कुर्ता सुरुवालसम्म सबै कुरा सिलाउन सिकेकी साबित्राको योजना छ, “अब घरमा मात्रै सीमित हुँदिन, आफ्नो ट्रेलर खोलेर व्यवसाय गर्छु ।” 

ठोरी ३ रामनगरकै संगीता भट्टराईको कथा पनि भिन्न थिएन । प्लस टु को परीक्षा सकेर तालिम सिक्न सुरु गरेकी सङ्गीतासँग अहिले प्लस टु पास गरेको योग्यतासँगै हातमा सीप पनि थपिएको छ । “पढाइसँगै सीप पनि अनिवार्य छ भन्ने सोचेर तालिममा आएकी थिएँ । हेर्दाहेर्दै आफैले सिलाएको कपडा लगाउने भइसकेछु । आफैलाई अचम्म लागिरहेको छ ।”

शून्यबाट सुरु भएको यात्रा

तालिममा सहभागी भएका अधिकांश प्रशिक्षार्थीको साझा अनुभव हो यो । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ३ ब्रम्हनगरमा, पर्सा ख्रिष्टियन समाजद्वारा आयोजित सिलाई–कटाई तालिमले, जीवन बदल्न सकिन्छ भन्ने उदाहरण प्रस्तुत गरेको छ । यो तालिम सर्भ नाउ (सेवा अहिले) नेपालको आर्थिक सहयोग र ठोरी गाउँपालिका वडा नम्बर ३ को समन्वयमा सम्पन्न भएको हो ।

२०८१ जेठ १ गतेदेखि सुरु भएको तालिमले २० महिलालाई ६ महिनासम्मको अभ्यास र अनुभवमार्फत सिपमा दक्षता प्रदान गरेको हो । मङ्गलवार एक कार्यक्रमका बिच ६ महिने निःशुल्क तालिमको समापन गर्दै सबै प्रशिक्षार्थीलाई प्रमाण पत्र र सिलाई मेशिन प्रदान गरिएको हो ।

प्रशिक्षक प्रतिमा चौधरी भन्छिन्, “सुरुमा महिलाहरू डराइरहेका थिए, सिप सिक्न गाह्रो छ भन्ने सोच थियो । तर बिस्तारै उनीहरूमा आत्मविश्वास बढ्यो । आज तिनीहरू मभन्दा बढी उत्साहित छन् ।”

यो पनि पढ्नुहोस् ।

ठोरीको ब्रम्हनगरमा ६ महिने निशुल्क सिलाईकटाई तालिम सुरु

पर्सा ख्रिष्टियन समाजका अध्यक्ष रामप्रसाद (प्रेम) घिमिरेका अनुसार, तालिमको मुख्य उद्देश्य समाजका विपन्न वर्गका महिलाहरूलाई आत्मनिर्भर बनाउनु हो । “तालिमपछि प्रमाणपत्र मात्रै हैन, हरेक सहभागीलाई एक थान सिलाई मेशिन पनि प्रदान ग-यौँ”, उनले थपे,  “आज सबैले आफैले सिलाएको कपडा लगाएको देख्दा हाम्रो उद्देश्य पनि पुरा भएको अनुभूति गरेका छौँ ।”यो तालिमले महिलाहरूको जीवनस्तर सुधार्न र स्वरोजगार सिर्जना गर्न ठोस आधार प्रदान गरेको उनको भनाई छ ।

तालिम समापन समारोहमा ठोरी गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष शम्भु खड्काले महिलाहरूलाई प्रोत्साहित गर्दै भने, “यो सिपलाई थन्क्याउनु हुँदैन । व्यावसायिक बनाउनुहोस्, स्वरोजगार बन्नुहोस् । पालिकाले तपाईँहरूको यात्रा सफल बनाउन हर सम्भव सहयोग गर्नेछ ।” व्यवसाय दर्ता गरेर आएमा इन्टर लक पालिकाले उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्दै वडाध्यक्ष खड्काले अन्य आवश्यक सहयोगमा पनि समन्वय गर्ने बताए । 

समाजका सल्लाहकार बाबुराम क्षेत्रीले तालिमले महिलाहरूको जीवन बदल्ने विश्वास व्यक्त गरे । “सिपले व्यक्तिलाई आर्थिक मात्र होइन, मानसिक रूपमा पनि बलियो बनाउँछ । यसले महिलाहरूलाई जोखिम र प्रलोभनबाट बचाउन ठूलो भूमिका खेल्छ”, उनले भने ।

Back to top