वीरगञ्ज । पर्साको ठोरी गाउँपालिका वडा नम्बर ३ ब्रम्हनगरमा ६ महिने निशुल्क सिलाईकटाई तालिम सुरु भएको छ । पर्सा ख्रिष्टियन समाजले ठोरी गाउँपालिका वडा नम्बर ३ को कार्यालयसँगको समन्वय र काठमाण्डौबाट सञ्चालित सर्भ नाओ नेपाल नामक संस्थाको आर्थिक सहयोगमा सिलाईकटाई तालिमको आयोजना गरेको हो ।
समाजका प्रमुख सल्लाहकार एवम् निवर्तमान अध्यक्ष बाबुराम क्षेत्रीको अध्यक्षतामा भएको तालिमको उद्घाटन ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले गरेका थिए । तालिमको उद्घाटन गर्दै अध्यक्ष श्रेष्ठले सीप सिकेर स्वरोजगार बन्न सुझाव दिए । निशुल्क रुपमा सीप सिक्ने अवसरको सदुपयोग गर्दै आयआर्जनको बाटो बनाउनुपर्नेमा उनले जोड दिए । उनले भने, ‘यहाँ धेरै तालिम खाली औपचारिकतामा मात्रै सिमित भएका छन् । तीन महिने तालिम भनेर १० दिनमै प्रमाणपत्र र सिलाई मेशिन लिएर जान्छन् । जसले गर्दा तालिममा खर्चिएको रकम खेर गइरहेको छ । तर तपाईहरुबाट त्यस्तो हुने छैन भन्ने विश्वास लिएको छु ।’
सीप सिकेर समूहमा व्यवसाय सुरु गर्न आग्रह गर्दै उनले त्यसका लागि गाउँपालिकाले आवश्यक सहयोग गर्ने आश्वासन पनि दिएका छन् । सीप सिक्नमा लापरवाही नगर्न सुझाव आग्रह गर्दै उनले पर्सा ख्रिष्टियन समाजले गरेको कामको सह्राना गरे ।
साथै आगामी दिनमा पनि गाउँपालिकामा अन्य सीपमुलक तालिम तथा जनचेतनामुलक कार्यक्रम गर्न हातेमालो गर्नुपर्ने उनको भनाइ छ । सीप सिकेर स्वरोजगार बनेमा आर्थिक रुपमा सबल भएपछि नेतृत्व विकास हुने र घरेलु हिंसा एवम् सामाजिक विभेद अन्त्य हुने पनि उनको विश्वास छ ।
ठोरी गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष शम्भु खड्काले सीपले व्यक्तिलाई सक्षम बनाउने धारणा राखे । व्यवसायिक रुपमा व्यवसाय सञ्चालन गरी अर्थाेपार्जन गर्ने हिसाबमा सीप सिक्नु उनले सहभागीहरुलाई आग्रह गरेका छन् ।
बढ्दै गरेको बेरोजगारीलाई कम गर्न तथा महिलालाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले निशुल्क सिलाईकटाई तालिम सुरु गरिएको समाजका अध्यक्ष रामप्रसाद घिमिरेले बताए । महिलाले सीप सिकेर आयआर्जन गर्न थालेमा महिला हिंसा जस्ता सामाजिक विकृति पनि अन्त्य हुने उनको विश्वास छ ।
झारा टार्ने हिसाबले नभई सहभागीहरुलाई दक्ष बनाउने गरी तालिम सञ्चालन हुने उनले बताए । घिमिरेकाअनुसार प्रशिक्षार्थीहरुले ६ महिनापछि प्रमाण पत्र पाउने बेला आफैले सिलाएको कपडा लगाउन सक्ने गरी सक्षम बनाउने योजना छ ।
सीप नभएकै कारण विभिन्न प्रलोभनमा पारेर नेपाली छोरीहरुलाई फसाउने र बाहिरी देशमा लिएर अलपत्र पार्ने अवस्थाको अन्त्यका लागि पनि सीप सिक्न जरुरी रहेको समाजका सल्लाहकार बाबुराम क्षेत्रीले बताए । उनले भने, ‘यदि तपाईहरुले सीप सिक्नुभयो भने कसैलाई कामको लागि गुहार्नु पर्दैन अनि फस्ने र ठगीने सम्भावना नै हुँदैन । त्यसैले सीप सिक्नुहोस् र आत्मनिर्भर बन्नुहोस् ।’
तलिमको उद्घाटन कार्यक्रममा ठोरी गाउँपालिकाकी कार्यपालिका सदस्य ज्ञान कुमारी जोशी, वडा सदस्य टीकाबहादुर श्रेष्ठ लगायतको उपस्थिती रहेको समाजका महासचिव राजकुमार गजमेरले जानकारी दिए ।
६ महिनासम्म सञ्चालन हुने तालिममा प्रमिता चौधरीले प्रशिक्षण दिनेछन् । तालिममा वडा नम्बर ३ कै २० जना युवती एवम् महिलाहरुको सहभागीता रहेको छ । कार्यक्रमको सहजीकरण स्थानीय रामबहादुर श्रेष्ठले गरेका थिए ।
