वीरगञ्ज । सन् २०२६ को अमेरिकी डाइभर्सिटी भिसा (डीभी) कार्यक्रमका लागि आवेदन आजबाट खुला भएको छ। काठमाडौँस्थित अमेरिकी दूतावासका अनुसार नेपाली समयानुसार राति ९:४५ बजेबाट डीभीका लागि आवेदन दिन सकिनेछ। इच्छुक आवेदकहरूले आधिकारिक वेबसाइटमा गएर आवेदन फाराम भर्न सक्नेछन्।
दूतावासका अनुसार आवेदनको म्याद कात्तिक २० गते राति १०:४५ बजेसम्म रहनेछ। यो कार्यक्रममा सहभागी हुन कुनै शुल्क लाग्ने छैन। आवेदकहरूले आवेदन गर्दा विश्वासिलो व्यक्ति वा साथीको सहयोग लिन सक्ने पनि दूतावासले जानकारी गराएको छ।
आवेदन फारम भर्दा आवेदकको पति–पत्नी र २१ वर्ष ननाघेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नुपर्नेछ। सूचीकृत नगरेको अवस्थामा आवेदन अमान्य ठहरिनेछ। यसबाहेक, एकजनाले मात्र एक पटक आवेदन गर्न पाउनेछन्। दोहोरो आवेदन गर्ने आवेदकहरू अयोग्य हुनेछन्।
डीभी आवेदन अनलाइन माध्यमबाट मात्र गर्नुपर्नेछ र फोटो खिच्दा चस्मा लगाउन नपाइने दूतावासले बताएको छ। साथै, अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्ष प्रयोग गर्न नहुने र यस्तो फोटो प्रयोग गरेमा आवेदन अस्वीकृत हुने स्पष्ट पारिएको छ। यस वर्ष आवेदन गर्दा राहदानी अनिवार्य गरिएको छैन।
दूतावासले डीभी आवेदन गर्दा प्राप्त कन्फर्मेशन नम्बर सुरक्षित राख्न आग्रह गरेको छ। कुनै पनि व्यक्तिलाई कन्फर्मेशन नम्बर नदिन अनुरोध गरिएको छ, किनभने यसले आवेदन प्रक्रियामा समस्या आउन सक्छ।