गत दुई दिनमा दुईवटा घटना घटित भएका छन् । पहिलो, कमला पुल निर्माणको लागि दबाब दिन आमरण अनसनमा बसेका अभियन्ताहरु र मधेश सरकारबीच चार बुँदे सम्झौता र दोश्रो, नेपाल सरकारले एक वर्षदेखि रोक लगाएको टिकटकलाई चार शर्तसहित पर्न संचालन गर्ने सहमति दिनु । तर स्थानीय तथाकथित राष्ट्रिय संचारमाध्यमहरुमा, सामाजिक संजालहरुमा, चिया पसलदेखि प्रबुद्ध नागरिक समाजको जमघटमा, भान्छा घरदेखि स्कूल कलेजहरुमा टिकटक पुनः संचालनमा आएको चर्चा अधिक छ ।
टिकटक संचालनमा आउँदाहुने लाभ/हानिको विश्लेषण अधिक छ । सरकार र आमनागरिकका लागि ११ वर्षसम्म संचालनमा आउँन नसकेको कमला पुल जरुरी छ कि एक वर्षदेखि रोक लगाइएको टिकटक ? नेपालको अर्थतन्त्र, सामाज, आम आदमीको दैनिकी माथि कमला पुलको प्रभाव बढी छ कि टिकटक को ? कमला पुल प्राथमिकता भएको भए, संचार माध्यमहरुमा यसको चर्चा अधिक हुनु पथ्र्याे । सामाजिक संजालमा कमला पुल विषयमा बहस छलफल हुनु पथ्र्यो ।
अनसनकारीहरुको कैम्पमा सेवाग्राहीको भीड लाग्नु पथ्र्यो । सरकारमाथि दबाब दिनु पथ्र्यो । गुदी कुरा के हो भन्ने हुलाकी सडक नेपाल सरकारको प्राथमिकतामै छैन । सडक नै प्राथमिकतामा नभएपछि यसै सडकमा बन्न लागेको कमला पुल प्राथमिकतामा पर्ने कुरै भएन । मधेशका २० जिल्ला जोड्न हुलाकी राजमार्ग नेपाल तराईको पूर्वमा भद्रपुर (झापा) देखि पश्चिममा दोधारा (कञ्चनपुर) सम्मका मधेशका वस्तीहरूको बीचोबीच निर्माण गर्ने योजना छ ।
यो नेपालको सबैभन्दा पुरानो राजमार्ग पनि हो । सरकारी चिट्ठी पत्र एवम् कागजातहरू देशभर छिटोछरितो एवम् सजिलो हुने गरी ओसार पसार गर्ने प्रयोजनका लागि ८औं राणा प्रधानमन्त्री पद्मशमशेर जबराले २००२ साल मंसीर १४ गतेदेखि २००५ साल वैशाख १६ गते सम्मको प्रधानमन्त्रीत्वकालको अवधिमा तराई मधेशमा पूर्वदेखि पश्चिमसम्म फैलिएको परम्परागत तराई मधेश मार्गलाई हुलाकी मार्ग नामांकृत गरी हुलाकी राजमार्गको निर्माण कार्यको थालनी गरेका थिए । पछि, जननिर्वाचित विपी सरकारको पालामा भौतिक पूर्वाधार मन्त्री गणेशमान सिंहले पक्की सडकको शिलान्यास गरेका थिए ।
जोहालसम्म निर्माण हुन सकेको छैन । सडकमा पर्ने पुलपुलेसाको अवस्थापनि उस्तै छ । ९ सय ७५ किलोमिटर हुलाकी सडक निर्माणमा भारत सरकारले सहयोग गर्ने समझौता गरेपछि पूर्व–पश्चिम राजमार्गबाट मधेशका जिल्ला सदरमुकामसम्म जोड्ने ८ सय १७ किमिको ३२ वटा सहायक राजमार्गहरू पनि यसमा जोडियो । यस प्रकार हुलाकी राजमार्गको लम्बाइ १ हजार ७ सय ९२ किमि पुगेको छ ।
अर्कोतर्फ राजा महेन्द्रले विसं २०१९ साल वैशाख १ गते नवलपरासीको गैडाकोटमा शिलान्यास गरेको झापाको काँकडभिठ्ठादेखि कञ्चनपुरको महेन्द्रनगर जोड्ने १ हजार २७ किलोमिटर लामो पूर्व– पश्चिम (महेन्द्र) राजमार्गको निर्माण सम्पन्न भइ पटक पटकमर्मत सम्भार पनि भइसकेको छ । दुई लेनको यो राजमार्ग अहिले चार लेनमा स्तरउन्नति हँुदैछ ।
पूर्व–पश्चिम राजमार्गको कारणले जलेश्वरको विकल्पमा बर्दीवास, जनकपुरधामको विकल्पमा ढल्केवर, सिरहाको बिकल्पमा लहान, बिराटनगरको विकल्पमा इटहरीलगायतका सहडहरु निर्माण भइ सकेका छन् । मध्यपहाडी लोकमार्गको कथा त अझै रोचक छ । सन् २०११ सम्ममा ट्रयाक खोल्ने लक्ष्यलिएको यो राजमार्ग १३ वर्षभित्र लगभग तयार भइसकेको छ । पूर्व–पश्चिम १ हजार ८ सय ७९ किमि लामो यो राजमार्ग पहाडी तथामध्य पहाडी क्षेत्रको लाइफलाइन बनेको छ ।
भारतीय सीमाभन्दा १० देखि २० किलोमिटर उत्तर अवस्थित हुलाकी राजमार्ग समयमै निर्माण हुन सकेको भए, सिंगै तराईको मुहार फेरिने थियो । चुरेको फेदमा निर्मित पूर्व–पश्चिम राजमार्गको कारण चुरे जंगल विनास भएको छ । चुरे पहाड उजार भएको छ । चुरे र भावर क्षेत्रमा बढ्दो अप्रवाशनको कारण वातावरण संतुलन नै बिग्रेको छ ।
हाल मधेशले भोग्नु परेको अतिवृष्टि, अनावृष्टि, अकाल, भूक्षय, जल शंकट चुरे विनासकै प्रभाव रहेको वातावरणविज्ञहरुको ठहर छ । धनुषा–सिराहालाई जोड्ने कमला पुल दुबै जिल्लावासीका लागि जिज्ञासाको विषय बनेको छ । मधेश प्रदेशको ‘लाइफलाइन’मानिने कमला पुलको शिलान्यास २०६८ साल जेठ ३१ गते भएको थियो । ४ सय ७० मिटर लामो पुल निर्माणको ठेक्का पप्पु–लुम्बिनी जेभीले लिएको थियो । ४२ महिनाभित्र निमाण सम्पन्न गर्ने गरी ठेक्का लिइएपनि सात वर्षसम्म पुल निर्माण हुन सकेन ।
ठेकेदार उपेन्द्र यादव नेतृत्वको पार्टी सम्बद्ध सांसद भएकाले पटक पटक म्याद थप गरिएको थियो । अन्ततः हुलाकी राजमार्ग सडक निर्देशनालयले सो निर्माण कम्पनीसँग ठेक्का तोडी निर्माणको जिम्मा लुम्बिनी बिल्डर्सलाई दिएको थियो । बिल्डर्सको कमान्डमा निमाण अन्तिम चरणमा पुगिसकेका बेला ०७८ साउनमा उद्घाटनको तयारी गरिसकेको अवस्थामा पुल भासिएको थियो । पुल भासिए पछि निर्माण कम्पनी र बीमा कम्पनी बीचको विवादले पुल निर्माण कार्य गत ३ वर्षदेखि ठप्प छ ।
संघीय सरकारले उपेक्षा गरेको हुलाकी सडक प्रदेश सरकारको प्राथमिकतामा पर्नु पर्छ भन्ने मेरो व्यक्तिगत राय हो । आमनागरिकले टिकटकभन्दा हुलाकी सडक, कमला पुल, मुलुकमा विद्यमान बेथिती बारे आवाज बुलंद गर्नु पर्छ भन्ने जनचाहना हो ।