×

नेपाली खेलकुदको प्रतिष्ठित एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड—२०८० को पिपल्स च्वाइसको मनोनयन सार्वजनिक भएको छ।

नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) को खेलाडी छनोट समितिले शुक्रवार पत्रकार सम्मेलन गरी यस विधामा पर्ने ५ खेलाडीको नाम सार्वजनिक गरेको हो। 

आगामी भदौ २८ गते हुने अवार्डका लागि कबड्डीकी मानमति बिष्ट, भलिबलकी कविता भट्ट, रग्बीका श्रीराम श्रेष्ठ, क्रिकेटका गुल्सन झा र फुटबलकी प्रीति राई पिपल्स च्वाइसको मनोनयनमा परेका हुन्। 

खेल क्षेत्रमा पाएको सफलता र लोकप्रियताको आधारमा यस विधामा खेलाडीलाई मनोनयन गर्ने गरिन्छ। 

मानमतिले १९औँ एशियाली खेलकुदमा नेपाललाई काँस्य पदक दिलाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन्। १२औँ सागमा एथ्लेटिक्सबाट प्रतिष्पर्धा गरेकी मानमति १३औँ संस्करणमा भने कबड्डीबाट नेपाललाई रजत पदक दिलाउन सफल भइन्।

गत महिना सम्पन्न काभा महिला भलिबलमा उपविजेता र सन् २०२३ को संस्करणमा नेपालले तेस्रो स्थान प्राप्त गर्दा कविता टोलीकी सदस्य थिइन्। 

रग्बीका श्रीराम १९औँ हाङझाउ एशियाली खेलकुद खेल्दा रग्बी टोलीका मुख्य खेलाडी थिए। उनले भारतको चेन्नईमा सन् २०१५ मा सम्पन्न ओलम्पिक छनोट पनि खेलेका थिए।

नेपालले गत टी–२० विश्वकप खेल्दा गुल्शन झा टोलीका महत्वपूर्ण सदस्य थिए। नेपाल पहिलो पटक एशिया कपमा पुग्दा उनले यूएईविरुद्ध एसीसी प्रिमियर कपको फाइनलमा अविजित ६७ रन बनाउनुका साथै एक विकेट लिएका थिए। 

१६ वर्षकै उमेरमा राष्ट्रिय महिला फुटबल टोलीबाट डेब्यु गरेकी प्रीतिले साउदी अरेबियामा सम्पन्न आठौँ वाफ उमन्स च्याम्पियनशिपमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। प्रतियोगितामा नेपाल उपविजेता बन्यो। त्यसअघि उनले सेमिफाइनलमा निर्णायक गोल पनि गरेकी थिइन्।

पुरस्कार विजेताको चयन खेल पत्रकार, राष्ट्रिय प्रशिक्षक, समर्थक र ई–सेवाको भोटिङबाट हुनेछ। ५० प्रतिशत मतभार रहने ई-सेवाको भोटिङ शुक्रवारदेखि नै शुरु भइसकेको छ। 

सामाजिक सञ्जाल फेसबुक मतभार २५ प्रतिशत (एनएसजेएफ पल्सर स्पोटर्स अवार्डको आधिकारिक फेसबुक पेज र पल्सर नेपालको आधिकारिक पेजमा रहेको खेलाडीका फोटोमा लाइक), नेपाल ओलम्पिक कमिटीमा आबद्ध राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतभार १२.५ प्रतिशत र एनएसजेफ सदस्यको मतभार १२.५ प्रतिशत रहनेछ।

शुक्रवार नै मनोनयन सार्वजनिक हुनुअघि मञ्च र भोटिङ पार्टनरका रूपमा विद्युतीय भुक्तानी सेवाप्रदायक कम्पनी ई–सेवासँग सम्झौता नवीकरण भएको थियो। मनोनयनमा पर्ने पाँचै खेलाडीले ई-सेवा केयर प्रडक्ट पनि पाउने ई–सेवाले जनाएको छ। 

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुने पल्सर स्पोर्ट्स अवार्ड २०८० मा उत्कृष्ट वर्ष पुरुष खेलाडी, उत्कृष्ट वर्ष महिला खेलाडी, उत्कृष्ट वर्ष प्रशिक्षक, उत्कृष्ट वर्ष युवा खेलाडी, पारा एथलिट सम्मान, स्पेशल अवार्ड, लाइफटाइम एचिभमेन्ट अवार्ड, एशियन स्पोर्ट्स जर्नलिस्ट अवार्ड र टिम अफ द इयर गरी कुल ९ विधामा अवार्ड प्रदान गरिँदै छ।

यसपटक वर्ष पुरुष, वर्ष महिला, वर्ष प्रशिक्षक, वर्ष युवा र पिपल्स च्वाइस अवार्ड विजेतालाई ५ थान बजाज पल्सर मोटरसाइकल प्रदान गरिँदै छ। 

पिपल्स च्वाइस अवार्डका विजेताले पल्सरको एनएस ४०० सिरिज प्राप्त गर्नेछन्। यो बजाजको नयाँ बाइक हो। बाँकी ४ विधाका विजेताले एनएस २०० पाउनेछन्। अन्य विधाका विजेतालाई जनही १ लाख रुपैयाँ प्रदान गरिनेछ।

अन्य सह–प्रायोजक तथा सहयोगीमा ई–सेवा, सूर्य नेपाल प्रालि, प्लाजा ग्रुप अफ होटल, रोयल सिंगी होटल, केल्मी नेपाल, राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपाल ओलम्पिक कमिटी (एनओसी) रहेका छन्।

Back to top