×

गबारो धान बालीमा क्षति पु-याउने एक महत्वपूर्ण  कीरा हो । यसबाट बर्षेनी करिब १५ प्रतिशत सम्म बाली नोक्सानी हुने गर्दछ । माउ गबारो १ देखि २ सेन्टिमीटर सम्म लामो हुन्छ । यो पुतली वर्गको कीरा हो जस्को लार्भाले गुबो खाइ नोक्सान पु-याउछ । लार्भा हलुका पहेलो रङको र २ सेन्टिमीटर सम्म लामो हुन्छ । 

गबारोको माउले धानको पातको टुप्पोमा माथिल्लो पट्टि सतहमा १०० देखि २०० को संख्यामा फूलका थुप्राहरु पार्दछ । नरम रेशमी भुवाले ढाकिएका अण्डाका थुप्राहरु पहेलो वा सेतो रङका हुन्छन् । अण्डाबाट करिब १ हप्तामा लार्भा निस्की डाँठमा प्वाल पारेर भित्र प्रवेश गर्दछ र नरम गुदि खाँदै बढ्छन् । तापक्रम अनुसार ३ देखि ६ हप्तामा पूर्ण विकसित भइ धानको डाँठ भित्रै पातलो रेशमी कोया भित्र अचल अवस्थामा जान्छ । एक देखि दुई हप्ता पछि वयस्क पूतली बनेर निस्किन्छ ।

क्षतिको लक्षण
डाँठमा गबारोले पारेको प्वाल स्पष्ट देखिन्छ । गाँज हाल्ने अवस्थामा गुबो मरेको हुन्छ र तान्दा सजिलै आउँछ । यो लक्षणलाई मृत गुवो भनिन्छ । बाला लाग्ने अवस्थामा गबारोले गुवो खाँदा सेतो बालो वा फुस्रो बाला भएको हुन्छ । यस किसिमको लक्षणलाई सेतो बाला भनिन्छ । गबारोले एउटा गाँज नोक्सान गरिसके पछि सँगैको अर्काे  गाँजमा पनि प्रवेश गरी नोक्सान पु¥याउँदछ ।

व्यवस्थापन 
१. धान काटी सकेपछि रहेको सम्पूर्ण ठुटा निकाली जलाई दिने अथवा ठुटा डुब्ने गरी एक हप्तासम्म पानी जमाउने वा धान काट्दा जमिनको सतह छुने गरी काट्ने ।

२. धान रोप्ने बेलामा धानको बेर्नाको पातको टुप्पो (२.५ देखि ३ से.मी.) चुडेर नष्ट गर्ने ।

३. माकुरा, लामसिंगे फट्यांग्रा जस्ता मित्र जीवको संरक्षण गर्ने ।

४. प्रकाश पासोको माध्यमवाट वयस्क पुतलीलाई आकर्षण गरी मार्ने ।

५. सकेसम्म पकेट क्षेत्रभरी एकैपटक धानको रोपाई गरिएमा गबारोबाट हुने नोक्सानी कम हुन्छ ।

६. हरेक बर्ष गबारोले नोक्सानी गर्ने ठाउँहरुमा बीउ दर बढ़ाइ प्रति इकाइ बिरुवाको संख्या बढाउँदा गबारोवाट हने नोक्सानी कम गर्न सकिन्छ ।

७. धान रोपाइ गरेको महिना दिनमा परजीवि कीरा (ट्राइकोग्रामा) को प्रयोग गर्न सकिन्छ । ५ से.मी. देखि १० से. मी. साइजको कार्डमा करीव २০ हजार ट्राइकोग्रामा रहेको हुन्छ । हेक्टरको लागि १० वटा ट्राइकोकार्ड प्रयोग गर्नुपर्दछ ।

८. व्यासिलस थुरिनजीयन्सिस (बि. टी.) ३ ग्राम पानीका दरले छर्ने ।

९. गबारोको धेरै प्रकोप (१० प्रतितशत भन्दा बढी) भएमा रासायनिक विषादी कार्टाप हाईड्रोक्लोराइड ४ प्रतिशत वा क्लोरान्ट्रानिलीप्रोल ०.४ प्रतिशत वा फिप्रोनिल ०.३ जी.आर. दानादार विषादी २५ केजी प्रति हेक्टर वा क्लोरोपाइरीफस २० प्रतिशत ई सी २ मिलि प्रति लिटर पानी वा एसिफेट ७५ प्रतिशत एस.पी. १ मिलि प्रति लिटर पानीका दरले प्रयोग गर्न सकिन्छ । दानादार विषादी प्रयोग गर्दा खेतमा ५–८ से. मी. पानी पाँच दिनसम्म कायम रहनु पर्दछ ।

सन्दर्भ सामग्रीहरू 
१. प्लान्ट क्वारेन्टाइन तथा बिषादी ब्यवस्थापन केन्द्र, हरिहर भवन, ललितपुर ।

२. कृषि डायरी – २०८१

(लेखक इस्तखार अंसारी वीरगञ्ज स्थाई घर भई हाल उनी टिकापुर कैलालीको सुदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायमा अध्ययनरत छन् ।) 

Back to top