×

नीम एउटा औषधीय गुण भएको वनस्पति हो । यसमा Azadirachtin भन्ने यौगिक पाइन्छ जसमा कीरा मार्ने गुण हुन्छ । यसको प्रयोगबाट बाली बिरुवाहरूमा लाग्ने विभिन्न थरीका कीराहरू जस्तै, चुस्ने कीरा, सुलसुले कीरा, पात खाने लाभ्रे कीरा आदिलाई नियन्त्रण गर्न सकिन्छ ।

प्रयोग विधि :
- सुकेको नीमको बीउलाई पिंधेर मसिनो बनाएको धूलो १० ग्राम प्रति के .जी अन्न (धान, मकै , गहुँ) मा मिसाएर भण्डारण गर्दा ६ महिनासम्म घुन–पुत्लाबाट बचाउन सकिन्छ ।

- त्यसैगरी १ के .जी नीमको पातलाई १० लिटर पानीमा मिसाई १२ घण्टा भिजाएपछि उक्त झोललाई धानको गभारो, फड्के कीरा, पात बेरुवा, पतेरो, डाँठ कुहाउने ढुसी, काँक्रो फर्सीको खपटे कीराहरू नियन्त्रण गर्न प्रयोग गर्न सकिन्छ ।

- नीमको २०० ग्राम हरियो पातलाई दगल्चाएर १ लिटर पानीमा १२–१५ घण्टासम्म ढड्याएर आएको रस हप्तामा १ पटकका दरले ६ पटकसम्म छरेमा काउली समूहको तरकारी बालीमा लाग्ने बन्दाको पुतली, भटमासको झुसिलकीरा, सुर्तीको पात खानेलाभ्रे, इँट्टाबुट्टे पुतली नियन्त्रण गर्न सकिन्छ ।

- एक किलोग्राम नीमको पातलाई एउटा भाँडोमा राखेर त्यसमा ५ लिटर पानी मिसाउने र पातको हरियो रङ पानीमा नआउँन्जेल सम्म पकाउने र सेलाए पछि पात हटाएर विषादीको रूपमा प्रयोग गर्न सकिन्छ ।

- नीमको २ किलो धूलो १६–२० लिटरसम्म पानीमा मिसाई एक रात भिजाएपछि झोललाई कपडाले छानेर तयार भएको १ लिटर झोललाई २० लिटर पानीमा मिसाएर ४–५ दिनको फरकमा विषादीको रूपमा छर्दा केरामा लाग्ने रोग कीरा नियन्त्रण गर्न सकिन्छ ।

- नीमको पिना नीमको दानाबाट तयार गरिएको हुन्छ । तोरीको पीना जस्तै गरी माटोमा यसको प्रयोग गर्दा माटोमा लाग्ने कीराको प्रकोप कम हुनाका साथै नेमाटोड रोकथामको लागि समेत प्रभावकारी हुन्छ । यसलाई बोटबिरुवा लगाउनु भन्दा अगाडि प्रतिबोट २५ ग्रामको दरले माटोमा मिलाई प्रयोग गर्न सकिन्छ ।

सन्दर्भ सामग्रीहरू :

१. कृषि ज्ञान केन्द्र गोरखा  (२०७७) प्राङ्गारिक कृषि सँगालो । कृषि विकास निर्देशनालय, गोरखा, गण्डकी प्रदेश

२. डिलाराम भण्डारी (२०६२) प्राङ्गारिक खेती प्रविधि । जिल्ला कृषि विकास कार्यालय, चावहिल, काठमाण्डौ

३. सप्रोस नेपाल (२०७५) कृषिजन्य प्राङ्गारिक खेती । सप्रोस–नेपाल, बबरमहल, काठमाण्डौ

(लेखक इस्तखार अंसारी वीरगञ्ज स्थाई घर भई हाल उनी टिकापुर कैलालीको सुदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायमा अध्ययनरत छन् ।) 

Back to top