×

वीरगञ्ज । लिची एक महत्वपूर्ण उष्ण प्रदेशिय फल हो । यो फल सापिन्डेसि परिवारमा पर्दछ । नेपालमा लिची मुख्यगरी तराई क्षेत्रमा लगाईन्छ । यो फल मुख्यगरी ताजा बोक्रा छोडाएर खाने गरिएता पनि यसबाट जुस, सर्वत, सुकाएर क्यान्डी बनाएर खान पनि सकिन्छ ।

यो फलको उत्पती चिनवाट भएको हो तर यसको उत्पादन चिन लगायत भारत, ताईवान, थाईल्याण्ड, दक्षिण अफ्रिका, ईन्डोनेशिया, मेक्सीको आदी देशमा भएको पाईन्छ । भिटामीन “सी“  प्रचुर मात्रामा पाईने यो फलमा उपयुक्त परिमाणमा फस्फोरस, क्याल्सीयम, फलाम, जस्ता तत्वहरु पाईन्छ ।

फल फुट्ने समस्या 
यो एक किसिमको विकृति हो जुन मुख्यतया छिटो पाक्ने जातहरुमा बढ़ी देखा पर्दछ । फलको बुद्धि बिकास तथा फल परिपक्व हुने समयमा उच्च तापक्रम,तातो हावाको बहाब, कम आद्रता र माटोमा चिस्यानको मात्रा कम भएमा वा सुक्ष्म तत्वको कमी भएमा यो समस्या देखा पर्ने गर्दछ । बोरोन तत्वको कमी तथा माटोमा क्याल्सियम कम भएमा पनी यो समस्या देखापर्दछ । दिन र रातको तापक्रमको फरक धेरै र धेरै समयसम्मको सुख्खा पछि अधिक पानी परेमा पनि यो समस्या देखा पर्दछ ।

नियन्त्रण 

१. फल विकास हने अवस्थामा माटोमा चिस्यान कायम राख्ने तथा बोटको वरिपरी छापोको व्यवस्था गर्ने ।

२. १०० पि.पि.एम (२० मि.ग्रा.) को एन.ए.ए, १० पि.पि.एमको २,४–डि (१ मि.लि.) जिब्रेलिक एसिड २० पि.पि.एम.को स्प्रे गर्ने ।

३. २ ग्राम बोरेक्स प्रति लिटर पानीमा मिसाएर फलको बृद्धि हने अवस्थामा छर्दा फल फुट्ने समस्या कम गर्न सकिन्छ ।

४. तातो हाबा बहने दिशातर्फ छिटो बढ्ने रुखको छेकबार लगाउने ।

सन्दर्भ सामाग्रीहरूः

१. वासुदेव कर्माचार्य (२०६५), नेपालमा फलफूल खेती र कलमी गर्ने प्रविधि, हेरिटेज पव्लिशर्स एण्ड डिस्ट्रव्यूटर्स प्रा. लि., भोटाहिटी, काडमाण्डौ ।

२. द्रोण राज काफ्ले (२०६९ ), लिची, आँप र लप्सी खेती प्रविधि, फलफूल विकास निर्देशनालय, कीर्तिपर,काठमाण्डौ ।

(लेखक इस्तखार अंसारी वीरगञ्ज स्थाई घर भई हाल उनी टिकापुर कैलालीको सुदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायमा अध्ययनरत छन् ।) 

Back to top