वीरगञ्ज । नेपालमा धान खेतीले महत्वपूर्ण स्थान ओगटेको छ । नेपालको मुख्य खाना चामल नै हो । तराई, पहाड, बेंसी एवं नदीनालाको किनारमा बस्ने सबै बासिन्दाहरू यसै बालीमा निर्भर छन् ।
धान प्रणालीले नेपालको कृषि क्षेत्रमा प्रधानता पाएको छ, जसले आर्थिक क्षेत्रमा नै प्रभाव पारेको । यी यावत कारणले गर्दा देशमा नै यो प्रमुख उद्योग भएको छ जुन देशको कुल ग्राहस्थको करीब एक चौथाई योगदान हुन आउँछ र यसले कूल खेतीयोग्य जमिनको १.४३० मिलियन हेक्टर अथवा ५४ प्रतिशत भूभाग ओगटेको छ ।
नेपालका प्रमुख खाद्यान्न बालीहरु मध्ये क्षेत्रफलको अनुसार धान पहिलो स्थानमा र मकै दोस्रो स्थानमा पर्दछ । उत्पादनको हिसाबले पनि धानले पहिलो, मकैले दोस्रो र गहुँले तेस्रो स्थान ओगटेका छन् । नेपालको सरदर उत्पादकत्व धानको २.९०७, मकैको २.२०५ तथा गहुँ १.९३४ टन प्रति हेक्टर रहेको छ । उन्नत प्रविधि र उन्नत बिउको प्रयोगबाट खाद्यान्न बालीको उत्पादन २५ प्रतिशतले बढाउन सकिन्छ ।
देशको विभिन्न भूगोलको हावापानी सुहाउँदो जातहरु विकास गरिएका छन् जसमध्ये किसान माझ अति नै लोकप्रिय मानिएका मुख्य जातहरू निम्न प्रकारका छन् :–
१. तराई क्षेत्रको लागि
सावित्री, राधा –४ , राधा – १२, राधा – १४, मिथिला, साँवा मंसुली सब – १, स्वर्णा सब –१ इत्यादी ।
२. मध्य पहाडी क्षेत्रमा लागि
खुमल –११, पोख्रेली जेठोबुढो, खुमल –१०, खुमल –१२, खुमल – १४ इत्यादी ।
३. उच्च पहाडी क्षेत्रमा लागि
चन्दननाथ –३, जुम्ला मार्सी, माछापुछ्रे, छोमरुङ इत्यादी ।
विभिन्न किसिमको प्रतिकूल अवस्थामा पनि बाँच्न सक्ने र राम्रो उत्पादन दिन सक्ने जातहरु यस प्रकारका छन् : –
१. खडेरी सहन सक्ने
सुख्खा धान – १, सुख्खा धान – २, सुख्खा धान – ३, सुख्खा धान – ४, सुख्खा धान ५, सुख्खा धान ६, तरहरा – १, हर्दीनाथ – २
२. डुबान सहन सक्ने
स्वर्णा सब – १, साँवा मसुली सब – १, सेहराङ सब – १
३. डुबान र खडेरी दुबै सहन सक्ने
बहुगुणी धान – १, बहुगुणी धान – २, सुख्खा धान – ६
४. चिसो सहन सक्ने
लेकाली धान – १, लेकाली धान – ३, चन्दननाथ – ३
५. सुगन्ध भएको
सुनौलो सुगन्धा, सुगनन्धि धान – १, लल्का बास्मती,
शुद्दोधन कालानामक
६. वर्णशंकर ( हाईब्रीड) धान
हर्दीनाथ हाईब्रीड धान – १, हर्दीनाथ हाईब्रीड धान – ३
अतः उन्नत बिउमा रोगकिराको प्रकोप पनि कम हुने भएकोले यसलाई उत्पादनको मेरुदण्ड मानिन्छ । कृषकले आ–आफ्नो हावापानी, खेतबारीको अवस्था इत्यादी अनुसार आफूलाई उपयूक्त पर्ने जात छनौट गरी राम्रो उत्पादन लिनु पर्ने देखिन्छ ।
संदर्भ सामग्रीः–
१. कृषि डायरी – २०८०
२. नार्क डायरी – २०७७
(लेखक इस्तखार अंसारी वीरगञ्ज स्थाई घर भई हाल उनी टिकापुर कैलालीको सुदुरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकायमा अध्ययनरत छन् ।)