×

ढाका, बंगलादेश - बंगलादेशकी अपदस्थ पूर्व प्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिगका २० नेता तथा उनीहरूको परिवारका सदस्य गरी २९ जनाको लाश फेला परेको छ। प्रधानमन्त्री पदबाट राजीनामा दिएर भारत पुगेकी शेख हसिनाको पार्टीका नेताहरु प्रदर्शनकारीको आक्रोशको सामना गरिरहेका छन्।

सतखीरामा भएको हिंसामा १० जनाको मृत्यु भएको छ भने कुमिल्लामा ११ जनाको ज्यान गएको छ। पूर्व काउन्सिलर मोहम्मद शाह आलमको तीन तले घरमा प्रदर्शनकारीले आगजनी गर्दा छ जनाको ज्यान गएको छ।

प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छाडेर भागेपछि शेख हसिनाका पूर्व मन्त्रिपरिषद्का मन्त्रीहरु एक एक गरी भाग्न थालेका छन्। पूर्व विदेशमन्त्री हसन महमूदलाई ढाका विमानस्थलबाटै पक्राउ गरिएको छ। उनी भारतको उडानमा चढ्न गएका थिए र उनलाई हिरासतमा लिइएको हो।

अवामी लिगका धेरै शीर्ष नेता र पूर्व मन्त्रीहरुले कु हुनुअघि नै देश छोडिसकेका थिए। महासचिव तथा सडक यातायात मन्त्री अब्दुल कादेर आइतबार राति नै देश छोडेर भागेका थिए। मन्त्री अनिसुल हक पनि हसिनाको राजीनामा अघि नै अज्ञात ठाउँमा गएका थिए।

बंगलादेश प्रहरी सेवा संघ (बिपीएसए) ले मंगलबार हडतालको घोषणा गरेको छ। उनीहरूले प्रत्येक प्रहरीको सुरक्षा सुनिश्चित नभएसम्म आन्दोलन जारी रहने बताएका छन्। सोमबार ४०० भन्दा बढी प्रहरी चौकीमा हमला भएको थियो जसमा धेरै प्रहरी मारिएका छन्।

शेख हसिनाले नियुक्त गरेका प्रहरी महानिरीक्षक (आईजीपी) चौधरी अब्दुल्लाह अल मामुनलाई मंगलबार राति बर्खास्त गरिएको छ। सार्वजनिक प्रशासन मन्त्रालयले ट्राफिक तथा ड्राइभिङ स्कुलका कमाण्डेन्ट मोहम्मद मैनुल इस्लामलाई नयाँ प्रहरी महानिरीक्षक बनाउने घोषणा गरेको छ। अल मामुन करारमा थिए र उनको सेवा विस्तार दुई वर्षअघि अघिल्लो सरकारले गरेको थियो।

यो हिंसात्मक घटनाले बंगलादेशको राजनीतिक स्थिरतामा गम्भीर असर पुर्‍याएको छ।

Back to top